काठमाडौँ, ११ वैशाख । प्रधानमन्त्री वालेन्द्र शाहले देशभरका वास्तविक सुकुमबासीहरूको यथार्थ पहिचान गरेर उनीहरूलाई यथाशक्य जग्गा वितरण गरी स्थायी व्यवस्थापन गरिने बताउनुभएको छ ।
केहीबेरअघि आफ्नो फेसबुक पेजमा प्रधानमन्त्री शाहले वर्षौँदेखिको सुकुमबासी समस्याको स्थायी समाधान खोजेर उनीहरूको बसोबासको व्यवस्थापनका लागि सरकारले काम गरिरहेको पनि स्पष्ट गर्नुभएको छ ।
प्रधानमन्त्री शाहले नदी किनारमा बसोबास गरिरहेकाहरूको सुरक्षा र उपत्यकाको ढल निकास प्रणाली सुधारका गर्न पनि उनीहरूलाई स्थायी रूपमा अन्यत्रै स्थानान्तरण आवश्यक रहेको पनि बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “हरेक वर्षको बाढीका कारण काठमाडौँका नदी किनारमा रहेका मानिसहरूले ज्यान जोगाउन सामान छोडेर भाग्नुपर्ने नियति छ । उनीहरूलाई जोखिमरहित सुरक्षित स्थानमा व्यवस्थापन गर्नु नागरिकको अधिकार हो ।”
प्रधानमन्त्री शाहले काठमाडौँको थापाथलीलगायतका बस्तीलाई मानवीयताको ख्याल गरेर बल प्रयोग नगरी सुरक्षित तवरबाट स्थानान्तरण र त्यसपछि व्यवस्थापन गर्न लागिएको पनि जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री शाहले आफ्नो चुनावी बाचा र सरकारको १०० दिने कार्ययोजनामा पनि सुकुमबासी समस्या समाधान गर्ने विषय समेटिएको स्मरण गर्दै झापामा उम्मेदवार हुँदा गरेको बाचा, राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिबद्धता र सरकारको १०० वटा गर्नै पर्ने काममा पनि सुकुम्वासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण रोक्ने विषय रहेको आफूले नबिर्सिएको बताउनुभयो ।