- प्रमिला कार्की
काठमाडौँ, १८ वैशाख । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । हरेक वर्ष मे १ मा मनाइने यो दिवस श्रमिकहरूको ऐतिहासिक संघर्ष, बलिदान र अधिकारको प्रतिकका रूपमा स्थापित हुँदै आएको छ ।
पेसागत महासंघका अध्यक्ष प्रेमल कुमार खनालका अनुसार मे दिवस केवल एक औपचारिक उत्सव नभइ श्रमिकहरूले आफ्नो हक–अधिकारका लागि गरेको त्याग र संघर्षको जीवित प्रतीक हो ।
नेपाल न्युज बैङ्कसँगको कुराकानीमा उहाँले मे दिवसले श्रमिकहरूलाई एक ठाउँमा उभिन, आफ्नो अधिकारको रक्षा गर्न र आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्न प्रेरित गर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “मे दिवसले श्रमिकहरूलाई एक ठाउँमा उभिन, आफ्नो अधिकारको रक्षा गर्न र आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्न प्रेरित गर्छ ।” उहाँले यसलाई श्रमिक वर्गको साझा पहिचान र ऐक्यबद्धताको दिनका रूपमा व्याख्या गर्नुभयो ।
मे दिवसको ऐतिहासिक पृष्ठभूमि सन् १८८६ मा अमेरिकाको सिकागोमा भएको मजदुर आन्दोलनसँग जोडिएको छ । त्यतिबेला उद्योगधन्दा र कारखानामा काम गर्ने मजदुरहरूलाई अत्यन्तै कठोर परिस्थितिमा १८ घन्टासम्म काम गर्न बाध्य पारिन्थ्यो ।
न्यून पारिश्रमिक, कुनै सामाजिक सुरक्षा नहुनु र श्रम अधिकारको पूर्ण अभावका बिच मजदुरहरूले आफ्नो मानवअधिकार सुनिश्चित गर्न सडक संघर्ष सुरू गरेका थिए । करिब पाँच लाख मजदुरहरू ‘८ घन्टा काम, ८ घन्टा विश्राम र ८ घन्टा मनोरञ्जन’ को मागसहित आन्दोलनमा उत्रिएका थिए, जसले विश्व श्रम आन्दोलनमा ऐतिहासिक मोड ल्यायो ।
तर, उक्त आन्दोलन शान्तिपूर्ण रूपमा टुंगिन सकेन । सरकारद्वारा गरिएको दमनका क्रममा गोलीकाण्ड भयो र धेरै मजदुरहरूले ज्यान गुमाए । मजदुर नेताहरूको हत्या र व्यापक दमनका बाबजुद पनि आन्दोलन रोकिन सकेन र निरन्तर संघर्षपछि अन्ततः श्रमिकहरूको माग क्रमशः सम्बोधन हुन थाले । यही घटनाले अन्तर्राष्ट्रिय श्रम आन्दोलनलाई नयाँ दिशा दियो र सन् १८९० देखि मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउने परम्परा सुरू भयो । त्यसयता यो दिवस विश्वभर श्रमिकहरूको सम्मान, अधिकार र एकताको प्रतीकका रूपमा स्थापित भएको छ ।
खनालका अनुसार नेपालमा पनि मे दिवसको महत्त्व उत्तिकै रहेको छ, तर श्रमिकहरूको वास्तविक अवस्था भने अझै चुनौतीपूर्ण छ । उहाँले अहिलेको अवस्थामा श्रमिकहरू न्यून पारिश्रमिक, अस्थायी रोजगारी र सामाजिक सुरक्षाको अभावबाट पीडित रहेको बताउनुभयो । सरकारले तोकेको न्यूनतम तलबले दैनिक जीवन धान्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले बढ्दो महँगीका बिच श्रमिक वर्ग झन् समस्यामा परेको बताउनुभयो ।
विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा श्रमिकहरूको अवस्था दयनीय रहेको उहाँको भनाइ छ। बालशिक्षिका, विद्यालयका अस्थायी शिक्षक, नर्स र अन्य स्वास्थ्यकर्मीहरूले न्यून पारिश्रमिकमा अत्यधिक काम गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
“आठ–दस हजार रुपैयाँ तलबमा दिनभर काम गर्नुपर्ने अवस्था छ, जुन आजको बजार मूल्यसँग कुनै हालतमा मेल खाँदैन,” यसलाई उहाँले श्रम शोषणको संज्ञा दिनुभयो ।
त्यसैगरी, करार र ज्यालादारी प्रणालीको विस्तारले श्रमिकहरूको रोजगारी अस्थिर बन्दै गएको छ । लामो समयसम्म काम गरे पनि स्थायी नियुक्ति नपाउने, सेवा सुविधा नपाउने र भविष्यप्रति असुरक्षा रहने अवस्थाले श्रमिकहरू मानसिक रूपमा पनि दबाबमा रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार श्रमिकले त्रासमुक्त वातावरणमा काम गर्न पाउनु नै आधारभूत अधिकार हो, तर अहिले पनि धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा बाँचिरहेका छन् ।
खनालले आर्थिक संरचनामा देखिएका समस्या पनि श्रमिक अवस्थासँग प्रत्यक्ष रूपमा जोडिएको बताउनुभयो । बैङ्किङ क्षेत्रमा ठुलो परिमाणमा पुँजी भए पनि त्यसको सही उपयोग हुन नसकेको उहाँको भनाइ छ । “जनताबाट संकलित निक्षेप सीमित ठुला व्यवसायीहरूमा केन्द्रित भएको छ, जसले गर्दा विपन्न वर्ग र साना उद्यमीहरू लगानीबाट वञ्चित भएका छन्,” उहाँले भन्नुभयो । उहाँका अनुसार यसले रोजगारी सिर्जना र उत्पादन वृद्धि दुवैमा असर पारेको छ ।
भूमि व्यवस्थापन र कृषि क्षेत्रतर्फ पनि उहाँले सरकारको ध्यान जानुपर्ने बताउनुभयो । देशमा ठुलो परिमाणमा खेतीयोग्य जमिन बाँझो रहेको उल्लेख गर्दै उहाँले त्यसको वैज्ञानिक व्यवस्थापन आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय तहलाई जिम्मेवार बनाएर कुन ठाउँमा के उत्पादन गर्न सकिन्छ भन्ने योजना बनाएर अघि बढ्नुपर्छ । देशमा ठुलो परिमाणमा खेतीयोग्य जमिन बाँझा छन् । भूमि व्यवस्थापन र कृषि क्षेत्रतर्फ पनि उहाँले सरकारको ध्यान जान जरुरी छ ।” यसले रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने उहाँको विश्वास छ ।
त्यसैगरी, उनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापारिकरणबाट मुक्त गरी आधारभूत अधिकारका रूपमा सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा हुनुपर्ने उल्लेख गर्दै उहाँले राज्यले यसमा स्पष्ट नीति र लगानी बढाउनुपर्ने उहाँको भनाइ छ ।
अध्यक्ष खनालले देशमा रहेको सम्भावनालाई सही ढंगले उपयोग गर्नसके आर्थिक तथा सामाजिक रूपान्तरण सम्भव हुने बताउनुभयो । नेपाल भौगोलिक, जैविक र सांस्कृतिक विविधताले सम्पन्न देश भएकाले कृषि, पर्यटन र उद्योग क्षेत्रमा ठुलो सम्भावना रहेको उनको भनाइ छ । तर, त्यसका लागि स्पष्ट दृष्टिकोण, दीर्घकालीन योजना र राजनीतिक प्रतिबद्धता आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
मे दिवसको अवसरमा उहाँले श्रमिकहरूको जीवनस्तर सुधारका लागि जीवन निर्वाह गर्न पुग्ने तलब, सामाजिक सुरक्षा, स्थायी रोजगारी र समान अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । साथै, श्रमिकहरूको वृत्ति विकासका लागि स्पष्ट प्रणाली निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार नेपालसहित विश्वका विभिन्न देशहरूमा मे दिवस र्याली, सभा, गोष्ठी र विविध कार्यक्रममार्फत मनाइँदै छ ।
कतिपय देशमा यसलाई उत्सवका रूपमा मनाइन्छ भने कतिपय स्थानमा अझै पनि अधिकार प्राप्तिका लागि संघर्षको दिनका रूपमा मनाइन्छ । नेपालमा पनि विभिन्न श्रमिक संगठनहरूले आफ्ना मागहरू अघि सार्दै कार्यक्रम आयोजना गरेका छन् । मे दिवस केवल विगतको सम्झना मात्र नभइ वर्तमान अवस्थाको मूल्याङ्कन र भविष्यको दिशा तय गर्ने अवसर पनि हो ।
श्रमिकहरूको सम्मान, अधिकार र सुरक्षालाई सुनिश्चित गर्न सके मात्र समृद्ध र न्यायपूर्ण समाज निर्माण सम्भव हुने खनालको भनाइ छ । “श्रमिकको अधिकार सुनिश्चित भएन भने विकासको कुनै पनि मोडेल दिगो हुन सक्दैन,” उहाँले स्पष्ट पार्नुभयो । –नेपाल न्युज बैङ्क