- आकांक्षा धामी
काठमाडौँ, २७ भदौ । काठमाडौँ उपत्यकामा सेप्टेम्बर ८ देखि सुरु भएको जेन–जी पुस्ताको ‘नेपोबेबीज’ अभियानले मुलुकलाई केही घण्टामै हल्लाइदियो । सामाजिक सञ्जालमा सुरू भएको अभियानले देशव्यापी आन्दोलनको रुप लिँदा काठमाडौँसहित देशका विभिन्न ठाउँमा प्रदर्शन, आगजनी र तोडफोडका घटनाहरु घटे । मुलुकका मुख्य संरचना सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतदेखि राजनीतिक दलका कार्यालयहरू समेत आगजनीमा परे ।
लगातार ४८ घण्टा चलेको आन्दोलनपछि शान्ति सुरक्षाका लागि नेपाली सेना सडकमा तैनाथ गरिएको छ । काठमाडौँसहितका विभिन्न जिल्लामा कफ्र्यु आदेश जारी छ ।
आन्दोलनले देशव्यापी तरंग पैदा गरेपछि विभिन्न राजनीतिक दलका नेताहरू र कार्यकर्ताहरूका प्रतिक्रिया आउन थालेका छन् । नेपाल न्यूज बैंकले गरेको पार्टीहरुको पछिल्लो अवस्थाको फिल्ड रिर्पोटिङमा एमाले पार्टीकी सदस्य प्रतीक्षा तिवारीले जेनजीको आन्दोलनको उद्देश्यप्रति समर्थन जनाउनुभएको छ । उहाँले जेनजीको मागहरू न्यायोचित रहेको बताउँदै देशभक्त युवाहरूको भावना सही भए पनि आन्दोलनमा घुसपैठ गरी देशलाई ध्वस्त पार्ने काम भएको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो,“देशमा व्यापक रूपमा भ्रष्टाचार र शुसासनको अभाव छ भन्ने विषय जेनजीले उठाएको आन्दोलन स्वागतयोग्य हो । तर, आन्दोलनको नाममा जसरी सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड भयो, त्यो दुःखद् छ । राष्ट्रका संरचनाहरु, सार्वजनिक सम्पत्तिहरु जले । तर, मलाई लाग्छ यो जेनजीको वास्तविक माग थिएन । आन्दोलनमा बाह्य शक्तिको घुसपैठ देखिन्छ ।”
यसैगरी आन्दोलनको नाममा भएको हिंसा र तोडफोडप्रति तिवारीले गहिरो आपत्ति जनाइन् । “देशको संरचना, सार्वजनिक सम्पत्ति र राष्ट्रिय धरोहरहरू जलाइयो, तोडफोड गरियो-यो कुनैपनि हालतमा जायज हुन सक्दैन । आन्दोलनमा बाह्य शक्तिहरू र निहित स्वार्थ बोकेका समूहहरूले घुसपैठ गरेको स्पष्ट देखिन्छ,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार, जेनजी आन्दोलनको वास्तविक उद्देश्य राष्ट्रलाई ध्वस्त पार्नु थिएन । “जेनजीले त्यो किसिमको हिंसात्मक कार्य गरेका पनि छैनन् । तर, उनीहरूको नाममा गलत समूहले भौतिक संरचनाहरू ध्वस्त पार्ने काम गरेका छन् । यस्तो कार्यप्रति म घोर भत्र्सना गर्छु,” तिवारीले भन्नुभयो ।
तिवारीले नेपालमा सुशासन, पारदर्शिता र विकासको आवश्यकता अपरिहार्य रहेको बताउँदै आन्दोलनका मूल मागहरूमाथि सरकार र सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले आन्दोलनका नाममा लोकतन्त्र र संविधानलाई मासेर कुनै नयाँ व्यवस्था ल्याउन नसकिने बताउनुभयो ।
उहाँले चेतावनी दिँदै भन्नुभयो, “हामी रोजगारी, शिक्षा, विकासका कुरा गर्दैछौँ, तर आन्दोलनका नाममा लोकतन्त्र र संविधानलाई मासेर हामीले कुनै नयाँ व्यवस्था ल्याउन सक्दैनौँ । लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र बनाऔँ । आज राष्ट्र र राज्यका सम्पत्तिहरु र धरोहरहरु ध्वस्त भएका छन् । रोजगारीका कुराहरु गर्दै छौँ, विकासका कुरा गर्दै छौँ, तर यसले देशलाई १०÷२० वर्ष पछाडि धकेलिदिएको छ ।”
यसैगरी एमाले कार्यकर्ता नवराज श्रेष्ठले आन्दोलनको कारण देशले ठुलो भौतिक र संस्थागत क्षति बेहोरेको स्वीकार गर्नुभयो । तर, उहाँले यसलाई गम्भीर ‘परिवर्तनको संकेत’का रूपमा पनि हेर्नुपर्ने बताउनुभयो ।
“हाम्रो पार्टी कार्यालयमा महत्त्वपूर्ण कागजातहरू थिए, लाखौं कार्यकर्ताका विवरण थिए । संरचना जलेर नष्ट भयो । तर अब परिवर्तनको लहर आएको छ, यसलाई नकार्न सकिँदैन ।” श्रेष्ठले यस्तो आन्दोलन आउनुका पछाडि लामो समयदेखि चलखेल र शासकीय तहमा लापरवाही भएको कारण हुन सक्ने बताउनुभयो ।
“जेनजी प्रदर्शनको कुरा एकदमै गम्भीर छ । जेनजीहरुलाई मात्र दोष दिएर उम्किन पाउने अवस्था छैन । यो घटना हुनुभन्दा अगाडि एमाले र काङ्ग्रेसले देश चलाइरहेको अवस्था थियो । यो घटना हुनुभन्दा अगाडिदेखि नै चलखेलहरु भइरहेको थियो । त्यो अवस्था सरकार प्रमुखले बुझ्नलाई ढिलाइ गरेको जस्तो अनुभव गरेका छौँ । यदि माथिल्लो तह र सुरक्षा निकायले यो विषयलाई पहिलादेखि नै गम्भीर भएर हेरेको भए सायद यति ठुलो घटना देशले भोग्नु पर्दैन् थियो होला,” उहाँले भन्नुभयो ।
यसैगरी कोशी प्रदेश कांग्रेसका प्रदेश सम्मेलन सदस्य कैलाश केसीले आन्दोलनको सुरुवाती चरणमै घुसपैठ भएको र त्यसकै कारण जनधनको ठुलो क्षति भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सुरुमा नै नियोजित षड्यन्त्रसहित आन्दोलनलाई भड्काइएको हो । यसमा बाह्य शक्तिको पनि हात देखिन्छ । सुरक्षा संयन्त्रले पनि आफ्नो जिम्मेवारी पूरा गर्न सकेन ।”
केसीका अनुसार कांग्रेसको पार्टी कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ । उहाँले जनसम्पत्तिमा भएको क्षतिको न्यायिक छानबिन गर्दै दोषीमाथि कडा कारबाहीको माग गर्नुभयो ।
कांग्रेस महाधिवेशन प्रतिनिधि नवीन लामाले जेनजी आन्दोलनलाई आम नेपाली जनताको मुद्दा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचारविरुद्धको आन्दोलन सबै नेपालीको साझा एजेन्डा हो । तर, यसमा घुसपैठ गरेर आन्दोलनलाई हिंसात्मक बनाइएको छ । पार्टी कार्यालय, सार्वजनिक सम्पत्ति जलाउनु दुःखद् र निन्दनीय छ ।”
उहाँका अनुसार आन्दोलनमा संलग्न जेनजी युवाहरूको उद्देश्य विध्वंस नभइ सुधार थियो । तर, उनीहरूलाई ढाल बनाएर स्वदेशी तथा विदेशी तत्वहरूले घुसपैठ गराएको आरोप उहाँले लगाउनुभयो ।
लामाले सुरक्षा संयन्त्रको भूमिकामाथि पनि प्रश्न उठाउनुभयो । “राष्ट्रपतिको सुरक्षा गर्न सक्ने निकायले भवनहरूको सुरक्षा गर्न नसक्नु गम्भीर कमजोरी हो,” उहाँले भन्नुभयो ।
यसैगरी कांग्रेस जिल्ला कार्यसमिति सदस्य राजु पाथिकले पनि आन्दोलनको मूल माग सकारात्मक भएको बताउनुभयो । उहाँका अनुसार जेनजी आन्दोलन भ्रष्टाचार विरुद्धको आवाज थियो, जुन सबै राजनीतिक दलको साझा एजेण्डा हो । तर, उहाँले पनि आन्दोलनमा आन्तरिक र बाह्य चलखेल भएको स्पष्ट संकेत गर्नुभयो ।
“सार्वजनिक सम्पत्ति जलाउनु कुनै हालतमा जायज होइन,” उहाँले भन्नुभयो, “तर त्यो कार्य जेनजीका युवा विद्यार्थीले गरेका हुन् भनेर म मान्दिनँ । माइतीघरबाट बानेश्वरसम्म पुगेपछि हेल्मेट लगाएका, मास्कधारी समूहले आगजनी गरेका हुन् ।”
पाथिकका अनुसार माओवादी जनयुद्धको समयमा पनि यति धेरै सरकारी सम्पत्ति जलिएको उनले देखेका थिएनन् । उहाँले भन्नुभयो, “देश अहिले आर्थिक रूपमा कमजोर अवस्थामा छ । संविधानको रक्षा गर्दै त्यसको सीमाभित्रबाटै समाधान खोज्नुपर्छ ।”
नेताहरूले संसद् विघटनको चर्चा नउठाउन चेतावनी दिँदै संविधानकै दायराभित्र रहेर समाधान खोज्नुपर्ने बताएका छन् । संसद विघटनले देशलाई फेरि ३० वर्ष पछाडि धकेल्न सक्ने उनीहरूको भनाइ छ ।
राजनीतिक नेताहरूको साझा धारणा यस्तो छ कि जेनजी आन्दोलनले उठाएका मुद्दाहरू उचित र सुधारमुखी थिए । तर, आन्दोलनको नाममा भएको हिंसा, तोडफोड र आगजनीले जनतासँगै राजनीतिक दलहरूलाई पनि गम्भीर प्रश्नको सामना गराएको छ । अबको प्राथमिकता संविधानको रक्षा गर्दै समस्याको शान्तिपूर्ण समाधानमा केन्द्रित हुनुपर्नेमा उनीहरूको जोड छ ।
जेनजीले सुरु गरेको आन्दोलनले देशमा व्यापक बहस जन्माएको छ । एकातिर भ्रष्टाचार, नातावाद, शासकीय बेथिति विरुद्धको आवाज उठाउने यो आन्दोलनले युवा पुस्ताको चेतनशीलता देखाएको छ भने अर्कातिर आन्दोलनमा घुसपैठ गरी गरिएको हिंसा र तोडफोडले आन्दोलनको नैतिक धरातलमा प्रश्न उठाएको छ ।