विश्वकपका लागि नेपालको तयारी तथा सामना गर्नुपर्ने चुनौती

27
  • राजु सिलवाल

काठमाडौँ, १८ भदौ । विश्व क्रिकेट जगतमा नेपालले आफ्नो उपस्थिति दिनहुँ फराकिलो बनाउँदै गइरहेको छ । पछिल्लो समयमा नेपालले क्रिकेटमा देखाएको प्रगतिउन्मुख सहभागितालाई विश्वकै क्रिकेट प्रेमीहरुले सन्तोषजनक रुपमा नियालिरहेको पाइएको छ । नेपालले पुरुष होस् वा महिला क्रिकेटका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा देखाउँदै आएको बलियो दाबेदारी देख्दा कुनै पनि नेपाली खेलप्रेमीहरुलाई गर्व लाग्ने गरेको छ । नेपाली खेलाडीहरुले सिमित साधन स्रोतका बीच पनि सम्भावनाका ढोका खोल्दै गइरहेका छन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उनिहरुले देखाएको उत्कृष्ट प्रदर्शनलेनै नेपाली क्रिकेटप्रेमीको सङ्ख्या दिनहुँ बढाउँदै गएको कुरामा सहमत हुन सकिन्छ । यस कार्यमा दर्शकहरुको पनि महत्त्वपूर्ण योगदान रहिआएको छ । नेपाल होस वा अन्य मुलुकमा नेपाली टिमको प्रतिस्पर्धा भएको बखत हुने गरेको खेलप्रेमीहरुको अपार उपस्थितिलाई अन्तर्राष्ट्रिय रुपमै आश्चर्यका रुपमा लिइएको छ ।

नेपालमा विदेशबाट भित्रिएका पुरानो खेलमध्ये क्रिकेट एक मानिन्छ । तत्कालीन राणाकालदेखि नै सीमित उच्च सम्भ्रान्तहरु मनोरञ्जनका लागि क्रिकेट खेल्ने गर्दथे । नेपाल क्रिकेट सङ्घ क्यानको स्थापना विक्रम सम्वत् २००३ सालमा भैसकेको थियो । विगतमा सिमित घरेलु प्रतियोगितामै अल्झिरहेको नेपालले गत सन् १९९६ मा पहिलोपटक मलेसियामा प्रथम एसिसी ट्रफी क्रिकेट प्रतियोगिता खेलेर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको थियो । नेपाललाई विश्वव्यापी क्रिकेट मञ्चमा स्थापित गराउन क्यानको भूमिका महत्त्वपूर्ण रहँदै आइरहेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिम अष्ट्रेलिया भ्रमण टुङ्ग्याउने क्रममा रहँदा नेपाल क्रिकेट सङ्घ (क्यान) लाई राष्ट्रिय खेलकुद परिषद्ले उत्कृष्ट खेल सङ्घ घोषणा गर्‍यो । नेपालमा रहेका सयौँ खेल सङ्घहरुमध्ये क्यान उत्कृष्ट खेल सङ्घ घोषित भएको हो । क्यान देशकै व्यस्त खेल क्यालेण्डर भएको उदाहरणीय खेल सङ्घ बन्न पुगेको छ । विभिन्न घरेलु क्रिकेट गतिविधि सञ्चालनका साथै अन्तर्राष्ट्रिय सहभागिताको तयारीमा क्यान व्यस्त रहेको छ ।

सन् २०२६ मा भारत र श्रीलङ्कामा आयोजना हुने ‘टि ट्वान्टी’ पुरुष विश्वकपको छनोट चरण पार गर्नका लागि क्यानले नेपाली टिमलाई नेपाल तथा भारतमा प्रशिक्षण दिनुका साथै अष्ट्रेलियाको लामो भ्रमणको व्यवस्थापन गर्‍यो । नेपालको अर्को टिमले भारतको आसाममा अभ्यास म्याच खेल्ने अवसर प्राप्त गर्‍यो । अब नेपाली टिम वेष्ट इण्डिजसँग सारजहाँमा खेलेर यही अक्टोबरमा ओमानमा छनोट चरणमा प्रतिस्पर्धाका लागि जानेछ ।

टी–ट्वान्टी विश्वकपमा प्रवेश
नेपाल सन् २०१४ मा पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ‘ट्वान्टी ट्वान्टी’ विश्वकपमा प्रवेश गरेको थियो । बङ्गलादेशमा भएको उक्त प्रतियोगितामा पहिलो पटकको प्रवेशमै नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरी अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो सशक्त उपस्थिति जनाएको थियो । नेपाली टिम सन् २०२४ मा १० वर्षपछि आइसिसी पुरुष ‘टि ट्वान्टी’ विश्वकपमा पुनः प्रवेश गर्न सफल भएको थियो ।

नेपालले विश्वकपमा सहभागिता जनाउन पाएको अवसरको मूल कारण नेपालले क्रिकेटमा गरेको यथोचित प्रगतिलाई मान्न सकिन्छ । विश्वकपका सिलसिलामा नेपाली खेलाडीहरुले विश्वका उत्कृष्ट टिमहरुसँग खेल्ने अवसर पाउनु सानो उपलब्धि होइन । अनुभवी खेलाडीहरुसँग खेल्दा हासिल भएको ज्ञानले नेपाली खेलाडीलाई अझै पारङ्गत गर्दै लगेको महसुस गर्न सकिन्छ । यसअघि नेपालले सन् २०२३ को एसिया कप जस्तो महत्त्वपूर्ण क्षेत्रीय प्रतियोगितामा पहिलो पटक उपस्थिति जनाएर भारत, पाकिस्तान जस्ता बलिया प्रतिस्पर्धीहरुको सामना गरेको थियो ।

आगामी विश्वकपको तयारी
नेपाल अहिले सन् २०२६ मा भारत र श्रीलङ्कामा आयोजना हुने टि ट्वाण्टी विश्वकप क्रिकेटको तयारीमा रहेको छ । यसै सिलसिलामा नेपाली राष्ट्रिय क्रिकेट टिम लामो अवधिको अष्ट्रेलिया भ्रमणबाट मिश्रित नतिजाको अनुभव बटुलेर स्वदेश फर्केको छ । नेपाली टोलीले पहिलो पटक डार्विनमा आयोजित टप इण्ड टी ट्वान्टी क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनुका साथै अष्ट्रेलियाली टिमसँग अभ्यास खेल खेलेको थियो । आगामी पुरुष विश्वकपको छनोट चरण पार गर्नका लागि क्यानले नेपाली टिमको व्यस्त तालिकाको व्यवस्थापन गरेको छ ।

टिमले नेपाल तथा भारतमा प्रशिक्षण गर्नुका साथै अष्ट्रेलियाको भ्रमण गरेको थियो । क्यानले नेपालकै अर्को क्रिकेट टिम बनाएर भारतको आसाममा अभ्यास म्याच खेल्न पठाएको थियो । नेपाली टिम अब सेप्टेम्बरको अन्तिम हप्ता वेष्ट इण्डिजसँग अभ्यास म्याच खेलेपछि अक्टोबरमा ओमानमा छनोट चरणमा प्रतिस्पर्धाकालागि जानेछ। र क्यानले राष्ट्रिय टिमका लागि व्यस्त तालिकाको व्यवस्थापन गरेर विश्वकप छनोट लागि बलियो आधार बनाउँदै लगेको महसुस गर्न सकिन्छ ।

अष्ट्रेलिया भ्रमणको उपलब्धि
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको अष्ट्रेलिया भ्रमण सशक्त प्रदर्शनका साथै श्रृङ्खला शैलीमा समाप्त भएको थियो । नेपाली टिमका कप्तान रोहित पौडेलको शतकसँगै साउथ अष्ट्रेलिया टिमलाई दुई विकेटले पराजित गर्दै नेपालले अष्ट्रेलिया भ्रमणको सुखद् अन्त्य गरेको थियो । भ्रमणको क्रममा नेपालले विभिन्न म्याचमा भोगेको पराजयको आधारमा आलोचना समेत खेप्नुभएका कप्तान पौडेलले अन्तिम खेलमा आफू लयमा फर्किएको प्रमाणित गर्दै सानदार प्रदर्शनका साथ १०१ रन बनाउन सफल हुनुभएको थियो ।

नेपालका लागि अष्ट्रेलिया भ्रमण टिमको समग्र अवस्थाको मूल्याङ्कनका लागि महत्त्वपूर्ण रह्यो । नेपाली खेलाडीहरुले विभिन्न खेलमा अभ्यास गर्ने अवसर पाउनुका साथै अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने मौका प्राप्त गरेका थिए जुन ‘टी ट्वान्टी’ विश्वकपको छनोट चरणका लागि सहयोगी हुने अपेक्षा गरिएको छ । विभिन्न खेलमा खेलाडीहरुको वर्तमान क्षमताको अवस्था थाहा हुनुका साथै आगामी दिनमा सुधार गर्नुपर्ने पक्ष स्पष्ट भएको थियो । नेपाली टिमले विश्वकप छनोटका लागि लिनुपर्ने रणनीतिका लागि पनि क्यानलाई यो भ्रमणले मार्गनिर्देशन दिएको छ ।

कस्तो भयो नतिजा
नेपालले अष्ट्रेलियामा जित तथा हार दुबै व्यहोरेर मिश्रित नतिजा हासिल गरेको थियो । नेपाली टिमले अष्ट्रेलियामा पहिलो पटक ‘टप इण्ड टी-ट्वान्टी’ सिरिजमा प्रारम्भिक चरणबाटै बाहिरिएर आठौँ स्थान प्राप्त गरेको थियो । उक्त प्रतियोगितामा नेपालले खेलेका छ म्याचमध्ये चार खेलमा हार्नुका साथै दुई खेल जितेको थियो । नेपालले उक्त प्रतियोगितामा प्रारम्भिक म्याचहरुमै राम्रो प्रदर्शन गर्न सकेन ।

सुरुमा लगातार तीन वटा म्याचमा नर्दन टेरिटोरी स्ट्राइक, बङ्गलादेश ए तथा मेलबोर्न स्टार्स एकेडेमीसँग पराजय भोग्दा नेपालको राष्ट्रिय टिमले अष्ट्रेलियाको एकेडेमिक टिमसँग समेत जित्न नसकेको भनि आलोचना समेत भएको थियो । त्यसपछि नेपालले होवर्ट होरिक्यान्स एकेडेमी र मेलबर्न रेनिगेडस एकेडेमीलाई हराएको थियो भने पाकिस्तान शाहिन्स टिमसँग झिनो अङ्कले पराजित हुन पुगेको थियो ।

एकै दिन दुई जित
नेपालले अष्ट्रेलियामा एकै दिनमा दुई खेलको अनुभव पनि हासिल गर्‍यो । नेपाल टिमले अभ्यास खेलको क्रममा एकै टिमसँग दुईवटा म्याचमा खेलले विजय हासिल गरेको थियो । नेपालले अष्ट्रेलियाको क्यापिटल टेरिटोरी टिमलाई पहिलो खेलमा ४१ रनले तथा दोस्रो खेलमा छ विकेटले हराएको थियो । नेपालले अन्तिम अभ्यास खेलमा साउथ अष्ट्रेलियालाई दुई विकेटले हराएको थियो । सो खेलमा कप्तान रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै शतक बनाउनुभएको थियो ।

प्रशिक्षकको सहासिक निर्णय
विगतदेखि नै नेपालले क्रिकेटका राष्ट्रिय वा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दा टिम कप्तानलाई मूल जिम्मेवार बनाइने गरिएको थियो । तर, यसपालि अष्ट्रेलियामा भएको एक खेलमा कप्तान नै खेल्नबाट बञ्चित हुनु परेको प्रसङ्ग चर्चित हुन पुग्यो । अष्ट्रेलियाका पूर्वब्याटर रहनुभएका नेपाली टिमका मुख्य प्रशिक्षक स्टुआर्टो लले कप्तान रोहित पौडेललाई नै खेल्न अनुमति नदिई बेञ्चमा राखेर नौलो प्रयोग गर्नु भएको थियो ।

उहाँले लेग स्पिनर सन्दीप लामिछाने, विकेट किपर आशिफ सेख, करण केसीलगायतका प्रमुख खेलाडीलाई पनि बेञ्चमै राख्ने सहासिक निर्णय गर्नुभएको थियो । त्यतिखेर उहाँले उपकप्तान दिपेन्द्रसिंह ऐरीलाई टिम नेतृत्व दिनुभएको थियो । मुख्य प्रशिक्षकले दिनुभएको जिम्मेवारीलाई दिपेन्द्रले कुशलतापूर्वक सम्पन्न गर्दै नेपाललाई जित दिलाउन अग्रणि भूमिका खेल्नुभएको थियो ।

कुशल प्रदर्शन
कप्तान रोहित पौडेलले अष्ट्रेलियामा नेपालको अन्तिम अभ्यास खेलमा शतक प्रहार गरेर आफूलाई अब्बल साबित गर्नुभएको थियो । यसैगरी उपकप्तान दिपेन्द्रसिंह ऐरीले पनि आफ्नो भूमिका यथोचित रुपमा प्रदर्शन गर्नुभएको थियो । लेग स्पिनर सन्दीप लामिछानेका साथै सोमपाल कामी, नन्दन यादवले अधिकांश खेलमा विकेट लिन सफल हुनुभएको थियो । अझ उहाँहरु बेग्ला बेग्ला बेग्लाले एउटै खेलमा लिनुभएको सर्बाधिक पाँच विकेट प्रशंसनीय थियो ।

झिनो पराजय
नेपाली क्रिकेटको इतिहासमा झिनो अङ्कको पराजयलाई नेपाली क्रिकेटप्रेमीहरुले कहिल्यै भुल्ने छैनन् । नेपाल पाकिस्तान शाहिन्स टिमसँग एक रनको मात्र अन्तरले मात्र पराजित भएको थियो । ‘टप इण्ड टी ट्वान्टी’ सिरिजमा नेपालको अन्तिम खेल अवधिभर विजयको खुसियाली मनाइरहेका नेपाली दर्शकलाई अन्तिममा दुःखी बनाउँदै नेपाली टिम प्रतियोगिताबाट बाहिरिएको थियो । खेलमा जितका लागि १४५ रन पछ्याएको नेपालले १४३ रन बनाइसकेको अन्तिम ओभरमा सम्हालिन नसक्दा पराजित हुन पुगेको थियो ।

नेपाली दर्शकको साथ
अष्ट्रेलियामा नेपाली टिमको सबैजसो खेलमा दर्शकहरुको उपस्थिति उल्लेखनीय रह्यो । विशेषगरी नेपाली दर्शकले नेपाली टिमका खेलाडीहरुको मनोबल उकास्न विशेष भूमिका खेलेका थिए । नेपाली टिमको खेल सार्वजनिक बिदा नपरेका दिनमा पर्दा पनि नेपाली क्रिकेटप्रेमीहरु खेल हेर्न बाजागाजासहित उपस्थित हुने गरेका थिए । नेपाली खेलाडीहरु प्रतियोगितामा सहभागी हुन डार्विनको विमानस्थल पुगेदेखि अन्तिम खेलसम्म नै दर्शकहरुले नेपाली टिमप्रति देखाएको सद्‌भाव प्रशंसनीय थियो । अष्ट्रेलियाका अन्य सहरबाट समेत नेपाली दर्शकहरु नेपालको खेल हेर्न डार्विन पुगेका थिए । खेल सुरु भएदेखि अन्त्य नहुञ्जेलसम्म नेपाली खेलप्रेमीहरुले गरेको अपार समर्थनले नेपाली टिमलाई उत्साहित बनाउन ठुलो भूमिका खेलेको थियो ।

क्रिकेटप्रेमीहरु नेपाली टिमको जर्सी लगाएर राष्ट्रिय झण्डासहित क्रिकेट मैदानमा उपस्थित भएका थिए । सामाजिक सञ्जालको माध्यमबाट पनि अष्ट्रेलियामा रहेका नेपाली क्रिकेट समर्थकहरुले ब्यापक रुपमा नेपाली टिमको समर्थन गरेका थिए । नेपाली टिमको खेल सम्पन्न भइसकेपछि डार्विनमा रहेका नेपाली समुदायले एक समारोहको आयोजना गरी सबै खेलाडी तथा अफिसियलहरुलाई प्रशंसापत्र प्रदान गरेका थिए । अष्ट्रेलियामा करिब एक लाख नेपाली रहेको अनुमान गरिएको छ । सिडनी, मेलबर्न, डार्विन, पर्थ, ब्रिसबेनलगायतका सहरमा नेपालीको सङ्ख्या अत्यधिक रहेको पाइन्छ । त्यहाँ स्थानीय तहमा आयोजना हुने गरेका विभिन्न क्रिकेट प्रतियोगितामा नेपालीहरुले खेलाडीका हैसियतले भाग लिने गरेका छन् । नेपालमा स्थापित भइसकेका केही खेलाडी अष्ट्रेलियामा व्यावसायिक खेलमै संलग्न हुँदै आइरहेका छन् । अष्ट्रेलियामा रहेका नेपालीहरुको आफ्नै क्रिकेट एशोसिएशन समेत क्रियाशील रहेको छ । त्यहाँ रहेका नेपलिज क्रिकेट क्लब मेलबर्न, हिमालयन क्रिकेट क्लब, गोर्खाज क्रिकेट क्लबजस्ता जस्ता खेलकुद संस्थाले नियमित रुपमा क्रिकेट प्रतियोगिताहरु आयोजना गर्दै आइरहेका छन् ।

नेपाली टिम अष्ट्रेलियामा टप इण्ड टी ट्वान्टी क्रिकेट प्रतियोगिताको प्रारम्भिक चरणबाटै बाहिरिएता पनि उक्त प्रतियोगितामा हासिल भएको अनुभव खेलाडीहरुका लागि आगामी दिनमा सहयोगी हुनेछ । नेपाली टिमले विभिन्न खेलमा ब्यहोरेको नतिजालाई शिक्षाको रुपमा लिँदै आगामी विश्वकप छनोटको बाटो फराकिलो बनाउँदै जान नेपाली टिम सक्षम हुने आँकलन गर्न सकिन्छ ।

आसाममा उपाधि
भारतको आसाममा खेल्न गएको नेपालको अर्को क्रिकेट टिमले सिरिज नै जितेर टिमको मनोबल बढाएको छ । आसाम प्रदेश क्रिकेट सङ्घलाई नेपालले टी ट्वाण्टी अभ्यास सिरिजमा तीन खेलमा पराजित गरेको थियो भने दुई खेलमा हार्न पुगेको थियो । प्रतियोगिताको दौरान नेपाली खेलाडीहरुले जितेका विभिन्न उपाधिले पनि नेपाली टिम बलियो भएको प्रमाणित गरेको छ । फाइनलमा नेपालका सन्दीप जोराले ६४ रन बटुलेर प्लेयर अफ दि म्याच उपाधि जित्नुभएको थियो । उहाँले कुल पाँच म्याचमा १८६ रन बनाएर बेष्ट ब्याटर हुनुभएको थियो । यस्तै, खेलाडी आकाश चन्दले पाँच म्याचमा १० विकेट बनाउँदै बेष्ट बलर बन्न सफल हुनुभएको थियो । पाँच म्याचमा नौ विकेट लिन सफल अभिनभ चौधरी प्लेयर अफ दि टुर्नामेण्ट हुनुभएको थियो ।

क्यान उत्कृष्ट
नेपाली टिम अष्ट्रेलिया र भारत भ्रमण टुङ्ग्याउने क्रममा रहँदा क्यानलाई राष्ट्रिय खेलकुद परिषद्ले यस वर्षको उत्कृष्ट खेल सङ्घ घोषणा गर्‍यो । यो सुखद प्रसङ्गले नेपाली क्रिकेट खेलाडीहरुलाई थप गौरवान्वित बनाएको छ । नेपालमा रहेका सयौँ खेल सङ्घ मध्ये क्यान उत्कृष्ट खेल सङ्घ घोषित भएको हो । राष्ट्रिय खेलकुद परिषदको ६२औँ वार्षिकोत्सवको अवसरमा क्यानलाई उक्त पुरस्कार प्रदान गरिएको थियो। क्यान देशकै ब्यस्त खेल क्यालेण्डर भएको उदाहरणीय खेल सङ्घ बन्न पुगेको छ। विभिन्न घरेलु क्रिकेट गतिविधि संचालनका साथै अन्तरराष्ट्रिय सहभागिताको तयारीमा क्यान ब्यस्त रहेको छ । आगामी विश्वकप प्रवेशकालागि क्यानले नेपाली टिमलाई बनाएको व्यस्तता नेपाली खेलकुद क्षेत्रमै उदाहरणीय मानिएको छ ।

नेपालले विश्वकपकै अभ्यासको सिलसिलामा अब वेष्ट इण्डिज जस्तो अनुभवी टिमसँग ३ म्याच खेलेर पक्कै पनि थप अनुभव हासिल गर्न पाउनेछ । त्यसपछि ओमानमा विश्वकपका लागि नेपालले एीसया तथा पूर्वी प्रशान्त क्षेत्रको छनोट चरणमा प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टिमले कुवेत तथा जापानसँग प्रतिस्पर्धा गर्दै विश्वकपमा छनोट हुने लक्ष्य राखेको छ । उक्त समूह चरणको प्रतिस्पर्धामा नेपाल एक खेलमा पराजित भएपनि प्रतियोगिताबाट बाहिरिन सक्ने चुनौती पनि रहेको छ । दुई पटक टी ट्वाण्टी विश्वकपमा सहभागी भइसकेको नेपाललाई पुनः छनोट गराउने प्रमुख जिम्मेवारी खेलाडीहरुको काँधमा रहेकाले उनीहरुले राष्ट्रको प्रतिष्ठाका लागि आगामी सबै चुनौती पार गर्दै अघि बढनु जरुरी छ । मुख्य प्रशिक्षक स्टुआर्ट लले अष्ट्रेलियामा लिनुभएको जस्तो सहासिक निर्णय विश्वकप छनोटका बेला पनि लिनु हुने अपेक्षा गरिएको छ । ब्याटिङ, बलिङ तथा फिल्डिङ तिनै पक्षमा नेपाललाई सक्षम रुपमा उतार्नु मुख्य प्रशिक्षकको दायित्व हो । नेपाली टिमलाई प्रत्येक खेलमा ओपनिङदेखि फिनिसिङसम्म सशक्त रुपमा उतार्न लयमा नभएका खेलाडीलाई बेञ्चमा राख्न मुख्य प्रशिक्षकले कुनै कञ्जुस्याइ नगरेमा पक्कै पनि सुखद् नतिजा प्राप्त हुने कुरामा आशावादी हुन सकिन्छ । नेपाली टिम विश्वकपमा छनोट हुन सफल भएमा क्यान मुलुककै उत्कृष्ट खेल सङ्घ घोषित भएको अझ सार्थकता हुनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...