काठमाडौँ, १० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराज भक्त श्रेष्ठले खुल्ला क्षेत्रमा फलफूलका बोटहरु लगाउन सके फलफूलमा हुने आयात कम गर्न सकिने बताउनुभएको छ ।
शनिबार रोटरी क्लबले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै उहाँले फल दिने विरुवा रोप्न जोड दिनुभएको हो ।
उहाँले भन्नुभयो, ‘रोटरी क्लबले यो पटक फल दिने बिरुवाहरु रोपेको छ । नेपालमा फलफूल उत्पादनमा ह्रास भएर बाहिरी मुलुकबाट भित्र्याइएका भन्ने समाचारहरु आइरहेका छन् । खुल्ला क्षेत्रहरुमा फलफूलहरु रोप्न थालियो भने चराचुरुङ्गीले पनि खान पाउने र विस्तारै बाहिरबाट भित्र्याउने संख्यामा पनि कमि हुन्छ । यस्ता कामहरुले सुक्ष्मरुपमा अर्थतन्त्रमा नै टेवा पुग्ने पुर्याउने देखिन्छ ।’
उहाँले खुला क्षेत्र फल लिने बिरुवाहरु रोप्दा पछि आयात निर्यातमा सन्तुलन हुनुका साथै अर्थतन्त्रमा टेवा पुर्याउने बताउनुभयो । उहाँले सबैलाई खाली ठाउँमा फल दिने बिरुवाहरु रोपी सहरी हरियाली प्रवर्द्धन गर्न समेत आग्रह गर्नुभयो ।