रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठकमा अवरोध कायमै राख्ने

8

काठमाडौँ, १ असार । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा बैठकमा अवरोध कायमै राख्ने भएका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएका रास्वपा र राप्रपाले बैठकमा अवरोध कायम राख्ने भएका हुन् ।

आइतबार बिहान सिंहदरबारमा सभामुख देवराज घिमिरेले गरेको प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारले आफूहरुको माग पूरा नगरेसम्म बैठकमा अवरोध कायम रहने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले भिजिट भिसा र अध्यागमनको प्रकरणमा रास्वपा आन्दोलनमा छ । सरकारले त्यो मुद्दा जुन गम्भीरताकासाथ लिनुपर्थ्यो लिएन । यत्रो मानव तस्करजस्तो मुद्दामा केही सुनुवाइ भएन । गृहमन्त्री लेखकको राजीनामा र छानबिन समितिको माग गरिरहेका छौँ । यसमा गम्भीरतापूर्वक लिएर माग पूरा नभएसम्म अवरोध जारी राख्छौँ ।”

उहाँले प्रमुख प्रतिपक्ष दल माओवादीले न्याय दिनेगरी सहमति नगरेको बताउनुभयो ।

यस्तै, राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पनि संसद्को अवरोध कायम राख्ने बताउनुभयो ।
शुक्रबार सदनमा गृहमन्त्री रमेश लेखकले समिति बनाएर अनुसन्धानलाई सघाउने ठाउँमा उल्टै धम्कीदिने भाषामा प्रस्तुत भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो अवरोध कायमै छ र हुन्छ । हामी निरन्तर एकजना भएपनि आफ्नो कुरा राख्छौँ । गृहमन्त्रीज्यूले समिति बनाउने कुरा त कता हो कता उल्टै धम्कीदिने भाषामा प्रस्तुत हुनुभयो ।”

यसअघि शुक्रबार कांग्रेस–एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच सदन खुलाउन दुई बुँदे सहमति भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...