काठमाडौँ, २९ जेठ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा हरेक क्षेत्रको अपार सम्भावना रहेको बताउँदै त्यसको समुचित सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
मिडिया इन्टरनेसनलद्वारा आयोजित ‘काम गरौँ आफ्नै देशमा’नामक वित्तीय साक्षरता, उद्यमशीलता तथा आर्थिक सम्भाव्यताको खोज अभियान कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले नेपाली युवाले देशमै अवसर खोज्न सक्ने वातावारण निर्माण गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “आफूभित्रको सम्भावना र आफ्नै देशको सम्भाव्यता बुझ्न सकेको देशले मात्रै विकासमा गति लिन्छ । जोसँग जे छ, त्यसैको सदुपयोग गरेर अगाडि बढ्नुपर्छ । नेपालसँग नभएको केही चिज नै छैन । नेपालमा संसारको सबैभन्दा अग्लो सगरमाथा छ, हिमाल, पहाड, तराई छ । हामीसँग अन्नको भण्डार पनि धेरै नै छ । फलफूलका निम्ति अत्यन्तै सम्भावना बोकेको पहाड छ । जडीबुटीका निम्ति सम्भावना बोकेको हिमाली क्षेत्र छ । हामीसँग भएको वनस्पति, वन्यजन्तु संसारमा छैन होला । हरेक हिसावले सम्पन्न छौँ ।”
उहाँले नेपालमा सगरमाथादेखि हिमाल, पहाड र तराईसम्मको भूगोलले अनन्त सम्भावना बोकेको बताउनुभयो । उहाँले हिमाल, पहाड र तराई नेपालसँग भएकाले अन्न, फलफूल, जडीबुटी र वन्यजन्तुको दृष्टिले नेपाल सम्पन्न देश भएको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले जलस्रोतको दृष्टिले नेपाल संसारकै दोस्रो धनी देश भएको उल्लेख गर्दै त्यसको दीर्घकालीन व्यवस्थापनमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
उहाँले नेपालसँग आगामी ५० वर्षसम्म आन्तरिक आवश्यकतालाई पूरा गर्न सक्ने स्रोतसाधनहरू प्रशस्त भएकाले त्यसको उपयोग गरी देशभित्रै रोजगारी सिर्जना गर्न र युवालाई स्वदेशमै अवसर दिन सकिने उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “जलस्रोतको दृष्टिकोणले संसारको दोस्रो धनी देश भन्छौँ । हिमनदीहरु छन् । तर, पछिल्लो समय हिमाल पग्लिँदै गरेको र हिमनदीहरु सुक्दै गएको छन् यो एउटा चिन्ताको विषय हो । तर, पनि हामी जलस्रोतको दृष्टिकोणले संसारको दोस्रो ठुलो हौँ । हामीसँग ५० वर्षको आन्तिरक आवश्यक्ता पूरा गर्न सक्ने धेरै चिजहरु छन् ।”