कांग्रेस–एमालेको रोग सरुवा रोग हो, उनीहरूसँग सहकार्य हुँदैन : प्रचण्ड

20

काठमाडौँ, १७ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुरलाई सधैँ परिवर्तनको पक्षमा भूमिका खेल्दै आएको बताउनुभएको छ ।

शनिबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कीर्तिपुर नगर समितिद्वारा आयोजित पिकनिक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कीर्तिपुरले आफूलाई गणतन्त्र नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनाएको स्मरण गर्दै यहाँका नेता, कार्यकर्ता, युवा, वृद्ध र सम्पूर्ण जनसमुदायप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

‘कीर्तिपुर नजितेसम्म न त चित्त बुझ्छ, न त मनमा शान्ति हुन्छ,’उहाँले भन्नुभयो, ‘यसपटक जित्न विशेष प्रयास गर्‍यौँ डा.शिव शरण महर्जनलाई जिताउन सकिएन, तर तेस्रो स्थानबाट दोस्रो स्थानमा पुर्‍याउन सक्यौँ । हामी निराश भएका छैनौँ, अब केही नयाँ गर्नुपर्छ भन्ने दृढ निश्चय लिएका छौँ ।’

प्रचण्डले माओवादी केन्द्र सरकारमा जाँदा पटक–पटक कांग्रेस र एमालेसँग सहकार्य गरेको तर त्यसबाट राम्रो अनुभव नभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले कांग्रेस र एमालेसँग सहकार्य गर्दा उनीहरूको रोग हामीमा सरेको जस्तो भयो । उनीहरूको रोग त फेरि सरुवा रोग हो । अब जनताको घर–घरमा गएर त्यसको उपचार गर्छौँ । हामी अब उनीहरूसँग सहकार्य गर्दैनौँ ।’

प्रचण्डले सरकारमा रहँदा माओवादी केन्द्रले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा काम गरेको कारण दलाल र बिचौलिया अत्तालिएर सरकार विरुद्ध लागेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,‘जनताले माओवादी नै जनताको पक्षमा काम गर्छ भन्ने विश्वास गर्न थालेका थिए, तर यही काम बिचौलियालाई मन परेन, त्यसैले अपारदर्शी ढंगले हामीलाई सरकारबाट हटाइयो ।’

उहाँले पार्टी सरकारबाट बाहिरिएपछि पार्टीले आत्मसमीक्षा गर्दै देशव्यापी जनता सङ्ग जोडिने अभियान सञ्चालन गरेको जानकारी दिनुभयो । ती अभियानअन्तर्गत तराईमा हुलाकी मार्ग केन्द्रित, पहाडमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान र अन्य अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

प्रचण्डले हुलाकी अभियानमा तराईमा ८–९ लाख जनताले पार्टीमा प्रवेश गरिसकेको र हालसम्म दुईवटा पार्टीसँग एकता भइसकेको जानकारी दिनुभयो । उहाँले मध्यपहाडी लोकमार्ग अभियान सकिएपछि थप तीन वटा पार्टीसँग निषर्त एकता गरिने जानकारी समेत दिनुभयो । ‘अब जनताले बुझ्न थालेका छन् माओवादी र कांग्रेस–एमाले पार्टी एउटै होइन, माओवादी केन्द्र नै जनताको असली प्रतिनिधि हो भन्ने कुरा जनताले बुझ्दै गएको छ,’ उहाँले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...