काठमाडौँ, १५ जेठ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले भनेजस्तै सानो मेहनत र प्रयासले नेपालमा गणतन्त्र नआएको बताउनुभएको छ ।
१८औँ गणतन्त्र दिवसका अवसरमा बोल्दै उहाँले गणतन्त्र दिवस मनाइरहेको बेलामा विगतका अनेक उतारचढावको सम्झना आइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आज गणतन्त्र दिवस मनाइरहेको बेलामा विगतका अनेक उतारचढावको सम्झना भइरहेको छ । सानो दुःखले आर्जेको मुलुक यो होइन भनेजस्तै सानो मेहनत र प्रयासले नेपालमा गणतन्त्र आएको होइन । यो राम्ररी सम्झना गर्नुपर्ने आवश्यकता छ । कम्युनिस्ट पार्टीभित्रै पनि आँट, दृष्टिकोण नभएका पनि हुन्छन् । समय अनुसार चल्न नजान्नेहरू, समयको प्रवाहलाई नबुझ्नेहरुमा आत्मविश्वास पाउन सकिँदैन ।’
साथै उहाँले चुनौतीको सामना गर्दै अवसरलाई सदुपयोग गरेर अघि बढ्ने आँट गर्नुपर्ने बताउनुभयो । उहाँले अहिलेका समस्याहरू के के हुन् त्यसका बारेमा वस्तुनिष्ट तरिकाले अघि बढ्न सक्नुपर्ने बताउनुभयो । उहाँले अहिले आफूहरूको अगाडि भएका समस्यालाई वस्तुनिष्ट तरिकाबाट अघि बढ्न आवश्यक रहेको जिकिर गर्नुभयो ।
तत्कालीन नेकपा (एमाले)भित्र देखिएका विचार प्रवृत्तिको दृढताका साथ विरुद्धमा उत्रिएको स्मरण गर्दै अध्यक्ष नेपालले चुनौतीको सामना गर्ने र अवसलाई सदुपयोग गरेर अघि बढ्नेहरुले इतिहासमा आफ्नो भूमिका निर्वाह गर्नसक्ने बताउनुभयो ।