मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ जना घाइते

13

भीमफेदी, ५ वैशाख । मकवानपुरमा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् ।

आज बिहान १ बजे मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको तथा १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका अनुसार बा प्र ०१–००६ ख ७०७२ नम्बरको गाडी शुक्रबार १ बजे सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनाको जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको कमाण्डमा प्रहरी टोली खटिएको थियो । गाडीमा चालकसहित १६ जना सवार थिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी रौतहटकी ५० वर्षीया नीलमदेवी राउतको उपचारको क्रममा आज बिहान हेटौँडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार सर्लाहीकी १३ वर्षीया मानुसी मगरको शव आज बिहान घटनास्थल नजिकैको खोल्सामा फेला परेको हो ।

दुर्घटनामा घाइते भएका १० जनाको हेटौँडा अस्पताल र अन्यको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

तीव्र गतिमा आएको गाडी मोडबाट तल खसेको प्रहरीको अनुमान छ । सडकबाट गाडी करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता अर्यालले बताउनुभयो । गाडी पूर्णरुपमा क्षति भएको छ । चालक सर्लाही बागमती गाउँपालिका–५ का २९ वर्षीय कमलबहादुर दर्लामी पनि घाइते भएका छन् । उहाँको उपचार प्रहरीको निगरानीमा भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...