काठमाडौँ, २२ चैत । नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता असुली गर्ने आफ्नो प्रयास नै पदबाट हट्नुपर्ने मुख्य कारण बनेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्नुहुँदै उहाँले प्राधिकरणले चार पटकसम्म लाइन बिच्छेद तथा अन्य विकल्प समेत अवलम्बनगरी बक्यौता असुलीको प्रयास गर्दा माथिल्लो निकायबाट नै अवरोध सिर्जना भएको बताउनुभयो । उहाँले लाइन बिच्छेदगरी बक्यौता असुली गर्ने सहमतिको लागि आफूले विद्युत् नियमन आयोगलाई पत्रचार गर्ने बित्तिकै पदबाट हटाउने निर्णय भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, प्राधिकरणले चार पटकसम्म लाइन बिच्छेद तथा अन्य विकल्प समेत अवलम्बनगरी बक्यौता असुलीको प्रयास गरिरहेकोमा पटक–पटक माथिल्लो निकायबाट नै अवरोध सृजना भएको कुरा सबैको जानकारीमा छ । लाइन बिच्छेदगरी बक्यौता असुली गर्ने सहमतिको लागि मैले विद्युत् नियमन आयोगलाई २०८१ चैत्र ११ गते पत्रचार गरेको थिए । त्यसलगत्तै मलाई बर्खास्त गर्ने निर्णय भयो । बक्यौता उठाउने प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छ ।’
त्यस्तै, उहाँले नेपाली जनतालाई भरपर्दो गुणस्तरीय पर्याप्त र सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने राष्ट्रसेवक कर्मचारीलाई निरुत्साहित एवम् अपमानित बनाउने दुरासय सफल भएकोमा कतिपय व्यक्ति समूह र शक्तिले आफूलाई सफल ठानेको बताउनुभयो । नेपाली जनताले दिएको स्नेह र आर्शिवादले आफूलाई हार्न नदिएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो,‘नेपाली जनतालाई भरपर्दो गुणस्तरीय पर्याप्त र सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमान्दारीपूर्वक पूरागर्ने क्रममा खटिरहेको राष्ट्रसेवक कर्मचारीलाई निरुत्साहित एवम् अपमानित बनाउने दुरासय सफल भएकोमा कतिपय व्यक्ति समूह र शक्तिले आफूलाई सफल ठानेको होलान तर नेपाली जनताले दिएको स्नेह र आर्शिवादले मलाई हार्न दिएको छैन ।’
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्र बिदा भएको भन्दै एक जिम्मेवार नागरिकको रुपमा मेरो काम कर्तव्य र अविभारा कहिल्यै कम नहुने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
नेपालको कानुनले निर्दिष्ट गरेको काममा खटिएको एक कर्मचारीमाथि राज्यको सम्पूर्ण शक्ति नै खनिएको उहाँको गुनासो छ । तर, त्यसबाट आफू कदापी उत्तेजित र हतोत्साहित नहुने पनि उहाँले बताउनुभयो ।
‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्र म बिदा भएको हुँ । एक जिम्मेवार नागरिकको रुपमा मेरो काम कर्तव्य र अविभारा कहिल्यै कम हुने छैन । नेपालको कानुनले निर्दिष्ट गरेको काममा खटिएको एक कर्मचारीमाथि राज्यको सम्पूर्ण शक्ति कसरी खनिएको थियो । कसको स्वार्थमा ममाथि जाइलागेको थियो । भन्ने कुरामा नेपाली जनता आफैँ प्रष्ट हुनुहुन्छ । तर त्यसबाट म उत्तेजित र हतोत्साहित भएको छैन । किनकी एक राष्ट्रसेवक कर्मचारीको रुपमा मैले मेरो कार्यकाल समीक्षा गर्दा पछुतो गर्नुपर्ने कुनै काम गरेको छैन,’ उहाँले भन्नुभयो ।