काठमाडौँ, १८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र नभएको बताउनुभएको छ ।
सोमबार केन्द्रीय समितिको बैठकको दोस्रो बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले गणतन्त्र भनेको जनताको तन्त्र भएको भन्दै गणतन्त्रमा सुधार आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नख्खुमा बाढी पहिरोको चपेटामा परेका ४ नागरिक बचाउन भिजिबिलिटी नपुगेको गृह मन्त्रालय र अस्ति तीनकुनेमा ४ हजारलाई सम्भाल्न नसकेको सरकारले सबै शक्ति केवल हामीमा गरिने प्रहारमा प्रयोग गरिरहेको छ । यो गठबन्धनले अब अर्को प्रहार गर्न सक्छ । तसर्थ अहिलेको पार्टी संरचना अझै सबल र सशक्त हुन आवश्यक छ । अब पार्टीको संरचनामा काम गरौँ, गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र हैन । गणतन्त्र भनेको जनताको तन्त्र हो र त्यो झन्डा हामीले बोक्छौँ । गणतन्त्रमा पनि सुधार आवश्यक छ ।’
यसको साथै उहाँले १५ दिनभित्र के के गर्नुपर्छ भनेर लिखित रूपमा लेखेर ल्यान आग्रह गर्दै पार्टीका लागि २४ घण्टा खट्न, सयौँ किलोमिटर हिँड्न तयार रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले के गर्नुपर्छ भन्नुस्, १५ दिनभित्र के भएन र के गर्नुपर्छ भनेर लिखित रूपमा लेखेर ल्याउनुस्, म पार्टीको लागि २४ घण्टा खट्न, सयौँ किलोमिटर हिँड्न तयार छु ।’
साथै, उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय भेलाबाट घोषणा गरेकै समयमा प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन आयोजना गर्ने प्रतिबद्धता सहितको निर्देशन पनि दिनुभयो ।