काठमाडौँ, १८ चैत । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राजावादी हुँ भन्दैमा गणतन्त्रवादीहरुलाई वा संसद्लाई चेतावनी दिने छुट कसैलाई नभएको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभाको बैठकमा नियमापत्ति गर्दै उहाँले समाजमा अराजकता मच्चाउने, जिउँदै मान्छे जलाउने, लुटपाट मच्चाउने, आगजनी गर्नेहरुलाई बल पुग्ने गरी गणतन्त्रको संसद्ले कोही कसैलाई पनि अनुमति नदिएको भन्दै यस्तो विरुद्धमा उभिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘संसद्लाई संविधानको विरुद्धमा, संसद्ले पारित गरेको नियमको विरुद्धमा जाने छुट छैन । समाजमा अराजकता मच्चाउने, जिउँदै मान्छे जलाउने, लुटपाट मचाउने, आगजनी गर्नेहरुलाई बल पुग्नेगरी संसद्ले कोही कसैलाई पनि अनुमति दिँदैन । त्यसप्रकारका क्रियाकलापहरु राजावादी हुँ भनेकै आधारमा गणतन्त्रवादीहरुलाई वा संसद्लाई चेतावनी दिने छुट कसैलाई छैन । यस्तो कतैबाट हुन्छ भने त्यस विरुद्धमा हामी उभिन्छौँ ।’
यसको साथै, प्रधानमन्त्रीले बोल्दैगर्दा पनि बोल्ने क्रममा प्रतिपक्षको तर्फबाट अवरोध सिर्जना भएको भन्दै सभामुखको अनुमति लिएर बोल्दै गरेको सदस्यलाई रोक्ने अनुमति संसद्को नियमावलीले कहाँबाट दियो भन्दै प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो हाउस सभामुखको अनुमतिमा चलिरहेको थियो । तर, लगातार व्यवस्था, संविधान र संसद्ले बनाएको नियमावलीको विरुद्धमा उभिएर विभिन्न प्रकारका गतिविधिहरु योभन्दा अगाडि पनि भइरहेका थिए । तर, आजको बैठकमा प्रधानमन्त्रीले बोल्दै गर्दा पनि बोल्ने क्रमलाई अवरोध हुने गरी प्रतिपक्षको तर्फबाट केही सांसदहरुबाट अवरोध सिर्जना भयो । त्यो अवरोध थियो र संविधानको विरुद्धमा गरिएको क्रियाकलाप थियो । सभामुखको अनुमति लिएर बोल्दै गरेको सदस्यलाई रोक्ने अनुमति यो संसद्को नियमावलीले कहाँबाट दियो ।’