काठमाडौँ, १६ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार भएको सबै अपराधिक गतिविधिको पछाडि ज्ञानेन्द्र शाह नै संलग्न भएको उल्लेख गर्नुभएको छ ।
शनिबार नेकपा (एकीकृत समाजवादी)को भवन अवलोकन गर्नुहुँदै उहाँले ज्ञानेन्द्र शाहको मानसिकता नै अपराधिक छ भन्ने कुरा इतिहासमा पनि देखिएको र अहिले पनि देखिएको भन्दै यसरी छाडा हुने छुट ज्ञानेन्द्र शाहलाई दिन नहुने बताउनुभयो ।
उहाँले सरकारले कडा कदम चाल्ने समय पनि यही नै भएको भन्दै अपराधीहरु सबैलाई छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले जे भइरहेको छ यो एकदमै प्रष्ट भएको छ कि यसको पछाडि ज्ञानेन्द्र शाह नै हो र ज्ञानेन्द्र शाहको मानसिकता नै अपराधिक छ भन्ने कुरा इतिहासमा पनि देखिएको हो र अहिले पनि देखिएको छ । त्यसकारण यही समय सरकारले कडा कदम चालोस् । अपराधीहरु सबैलाई छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ र ज्ञानेन्द्र शाहलाई पनि छाडा हुने छुट दिन सकिँदैन । नेपाली जनता त्यसका लागि तयार छैन । यसमा पनि सरकार गम्भीर हुनुपर्छ भन्न चाहन्छु ।’
यस्तै, उहाँले राजधानीको मुटुमा यस्तो तोडफोड, विवेकहीन, अपराधिक घटना हुँदा सुरक्षाकर्मी समयमा आउन नसक्नु गम्भीर विषय भएको भन्दै यसलाई सरकारले समीक्षा गरेर आउने दिनका लागि पुनः तयारी भएर बस्नु पर्ने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो पहिलो कुरा सरकार र प्रहरीको राम्रो तयारी देखिएन, आक्रमण भयो भनेर जानकारी गराएपछि पनि झण्डै ४०, ४५ मिनेटसम्म सुरक्षाकर्मीहरु नदेखिनु बडो बिडम्बना नै भन्नुपर्छ । यो खालको घटना होला भन्ने अपेक्षा नगरेको कुरा सुरक्षा क्षेत्रबाट आएको छ तर राजधानीको मुटुमा यस्तो तोडफोड, विवेकहीन, अपराधिक घटना हुँदा सुरक्षाकर्मी समयमा आउन नसक्नु यसलाई गम्भीर समीक्षा सरकारले गरोस् र आउने दिनको लागि पुन तयारीमा जाओस् ।’