‘समाजवादी मोर्चाको आन्दोलन जनताका लागि हो, राजतन्त्र इतिहास भइसक्यो’

17
  • प्रमिला कार्की

काठमाडौँ, १४ चैत । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले समाजवादी मोर्चा नेपालले शुक्रबार चैत्र १५ गते काठमाडौँमा गर्ने प्रदर्शनको तयारी अन्तिम चरणमा रहेको जनाउनुभएको छ ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा सापकोटाले चैत्र २४ गते बृहत् प्रदर्शन र जनसभालाई अगाडि सारेर शुक्रबार नै गर्न लागेको जानकारी दिनुभयो ।

‘चैत्र २४ गते बृहत् प्रदर्शन र जनसभा गर्ने भनिरहेका थियौँ । त्यसलाई अलि अगाडि १५ गतेलाई सारेका हौँ । त्यसपछि पार्टीको अभियानलाई निरन्तरता दिने छौँ । प्रदर्शनका लागि तयारी घनिभूत रुपमा भइरहेको छ । हाम्रो पार्टीको तर्फबाट पनि धेरै राम्रो तयारी भइरहेको छ । र अन्य पार्टीहरुले पनि राम्रो तयारी गरिराख्नुभएको छ । समाजवादी र नेपाल कम्युनिस्ट पार्टी सी, जनता समाजवादी पार्टी सबैले अत्यन्तै ठुलो महत्त्वपूर्ण र प्राथमिकताका साथ तयारी गरिरहनुभएको छ,’ उहाँले भन्नुभयो ।

राजावादीको कार्यक्रम आफूहरुलाई थाहा नभएको भन्दै सापकोटाले एकैदिन पार्ने कुरालाई धरपकडसँग जोड्न नमिल्ने बताउनुभयो । ‘परिस्थितिलाई उत्तेजित पार्ने, परिस्थिति भड्कन नदिनेगरी काम गरिरहेका छौँ । व्यवस्थित सालिन, भद्र हुने छ । स्तरीय हुने छ,’ उहाँले अगाडि भन्नुभयो,‘जनतामा देखिएको निराशा, असन्तुष्टि आक्रोश पनि सम्बोधन गर्ने छौँ । त्यसैले यो प्रदर्शन कार्यनीति र रणनीतिक हिसाबले महत्त्वपूर्ण छ ।’

प्रदर्शन समाजवादको आधार तयार पार्ने एउटा प्रस्थान बिन्दु पनि भएकाले देखिएका विकृति विसङ्गतिहरुको विरुद्ध केन्द्रित हुने उहाँको भनाइ छ । त्यसैले प्रदर्शन बहुआयामिक महत्त्वको रहेको र १५ गतेको आन्दोलन सामान्य नभएको उहाँको बुझाइ छ ।

सरकारको नालायकीपनले गर्दा कुशासनले गर्दा जनतामा व्यापक निराशा, असन्तुष्टि, आक्रोशका लागि प्रदर्शन उपयोगी हुने उहाँले जानकारी दिनुभयो ।

‘यहीँ मौका पारेर इतिहासमा थन्क्याइएको राजतन्त्र फिर्ता गर्नुपर्छ भनेर केही मान्छे लागेका छन् । त्यसको कुनै आधार छैन । बिना आधार उनीहरु उत्साहित भइरहेको छन् । यो निरर्थक छ । किनकी अहिलेको यो असन्तुष्टि व्यववस्थाप्रतिको, लोकतन्त्रप्रतिको, गणतन्त्र संघीयता धर्म निरपेक्षताप्रतिको असन्तुष्टि होइन । यो सरकारले जुन उल्टो गति लिइरहेको छ । यसले गर्दा जनतमा व्यापक असन्तुष्टि भएको बेलामा धमिलो पानी बनाएर माछा मार्न सकिन्छ कि भनेर लागेका छन्,’ उपाध्यक्ष सापकोटाले भन्नुभयो,‘इतिहास भइसकेको राजतन्त्र फर्काउने कल्पना पनि गर्न सकिँदैन । युवाहरु यथास्थितिवादी सोचको विरुद्धमा छन् । तर, त्यसको अर्थ उनीहरु पछाडि फर्कन चाहँदैनन् । अगाडि जान चाहन्छन् । अझ समुन्नत लोकतन्त्र स्थापना बनाउन आफ्नो अभिमत राखिरहेको छन् ।’

वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति असाध्यै धेरै अन्योलपूर्ण, जटिल र पेचिलोे बन्दै गइरहेको साथै जनताले सरकारमाथि प्रश्न गरिरहेकाले आन्दोलन उपयोगी भएको उहाँको भनाइ छ । लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएकाले लोकतन्त्रको विकल्प पछाडि फर्कने हुन नसक्ने उहाँले बताउनुभयो ।

नयाँ युवा युवतीहरुको चाहानाहरु पूरा गर्नका लागि यथास्थितिवादबाट अगाडि बढ्नैपर्ने, नयाँपन दिनैपर्ने भएकाले माओवादी केन्द्रले सोहीअनुसार काम गरिरहेको पनि बताउनुभयो । नेपाली समाजलाई अगाडि बढाउन समाजवादबाहेक अर्को व्यवस्था नभएकाले समाजवादमा न्याय र निष्पक्षता हुने उहाँको जिकिर छ ।

Share This:
सम्बन्धित खबर
Loading...