काठमाडौँ, १३ चैत । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल सरकार सहरीकरणको बहुआयामिक चुनौतीहरुको सामना गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
बुधबार काठमाडौँमा आयोजित सहरी शासन र विकाससम्बन्धी क्षेत्रीय गोल तालिका विषयक छलफल कार्यक्रममा उहाँले सरकार सहरीकरणको चुनौती सामना गर्न तयार रहेको भन्दै मन्त्रालयको एजेण्डा भनेकै आधारभूत सेवामा सबैको पहुँच पुर्याउनु भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालले पनि अन्य देशहरु जस्तै तीव्र सहरीकरणको बहुआयामिक चुनौतीहरुको सामना गरिरहेको छ । यद्यपि, सरकार यो सबै चुनौतीहरुको सामना गर्न र यसलाई व्यवस्थापन गर्न एकदमै प्रतिबद्ध रहेको छ । मेरो मन्त्रालयको एजेण्डा भनेको अर्थतन्त्रमा आधारित सहर निर्माण गर्नु हो जहाँ सबैजनाको आधारभूत सेवाको पहुँच हुन्छ । यसको साथै सुरक्षित आवास, स्वच्छ वातावरण, सामाजिक र आर्थिक गतिविधिको अवसर पनि प्राप्त गर्न सकिन्छ । यो योजना पूर्वाधार विकासको लागि मात्र होइन स्थिर समुदाय विकास गर्नको लागि हो जहाँ सबैले जीवनको आवश्यकता पूरा गर्ने मौका पाउने छन् ।’
यसका साथै उहाँले सरकार सहरीकरणको चुनौतीहरु सम्बोधन गर्न प्रतिबद्ध रहेको भन्दै नेपालको राष्ट्रिय सहरी नीति २०२४ यसैतर्फ अगाडि बढेको बताउनुभयो ।
उहाँले आजको कार्यक्रममा आउने सबै विचार र सामूहिक प्रयासले नयाँ योजना र दिगो समाधान ल्याउने भन्दै यसले नेपाललाई मात्र होइन एसियालाई नै फाइदा दिने पनि बताउनुभयो ।