विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने मन्त्री पौडेलको निर्णय

22

काठमाडौँ, १३ चैत । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत् १५ वर्षमुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गर्नुभएको छ ।

सञ्चालक समिति अध्यक्षसमेत रहनुभएका मन्त्री प्रदीप पौडेलले बैठकमार्फत् आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको कार्यकारी निर्देशक रवि मल्लले जानकारी दिनुभयो ।

‘मन्त्रीज्यूबाट आर्थिक अभावमा कोही बालबालिकाको उपचार नरोकियोस् भने पछि आन्तरिक र अन्य श्रोतबाट उपचार गराउने निर्णय गरेका हौं,’ कार्यकारी निर्देशक मल्लले भन्नुभयो ।

हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रलाई पाँच सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारका लागि प्रति बालबालिका दुई लाख ५० हजार सहायता दिंँदै आइरहेको छ । उपचार लिनेको संख्या बढिरहँदा केन्द्रले त्यसमा आन्तरिक श्रोतसमेत थप गरेर आर्थिक अभावको समस्या भोगेका बालबालिकाको शल्यक्रियासहितका सेवा उपलब्ध गराउने निर्णय गरेको हो ।

यसवर्षको पुष महिनासम्म ४८० बालबालिकाले गंगालालबाट शल्यक्रियासहितको उपचार सेवा निःशुल्क प्राप्त गरेका छन् ।

‘आर्थिक अभावमा कोही पनि बालबालिका मुटु उपचारबाट बञ्चित नहोउन् भन्ने हाम्रो चाहना हो,’ मन्त्री पौडेलले भन्नुभयो, ‘यसका लागि थप श्रोतको खोजीसमेत गरिनेछ ।’

सञ्चालक समिति बैठकले बाल मुटु उपचारका लागि थप श्रोतको खोजी गर्न स्थानीय तहहरुसँग समेत सम्झौता गर्ने निर्णय गर्दै त्यसका लागि सदस्य सापकोटालाई जिछण्म्मेवारीसमेत तोकेको छ ।

‘स्थानीय तहहरुसँगको सहकार्यमा बाल मुटु उपचार थप पहुँचयुक्त र प्रभावकारी बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ,’ सञ्चालक समिति सदस्य सापकोटाले भन्नुभयो, ‘सहकार्य गर्ने गरी गृहकार्य सुरु गरेका छौँ ।’

नेपालमा एक हजार बालबालिकामध्ये ८ देखि १० जनामा मुटुसम्बन्धी समस्या देखिने गरेको एक अध्ययनले देखाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...