काठमाडौँ, १३ चैत । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले कुलमान घिसिङजस्तो योग्य कर्मचारीलाई अपमान गर्ने जुन काम भयो त्यो खेदजनक रहेको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बाहिर बोल्नुहुँदै उहाँले लोडसेडिङ मुक्त राष्ट्र बनाउन मूल नेतृत्व गरेको घिसिङलाई सम्मान गर्नु सट्टा सरकारले अपमान गरेको भन्दै यो खेदजनक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘काम गर्ने एकजना मजदुर, नागरिक सबैलाई हेर्नुपर्छ नि । नेपाल पहिला धेरै अन्धकारमा रहेको थियो । ९ देखि १८ घन्टासम्म लोडसेडिङ हामीले भोग्नु परेको थियो । त्यो लोडसेडिङ घट्दै गएर करिब करिब लोडसेडिङ मुक्त राष्ट्रको रुपमा हामी अगाडि बढेका छौँ । त्यसको मूल नेतृत्व कुलमान घिसिङले गरेको कुरा सबैलाई थाहा छ । कुलमान घिसिङ एकजना कर्मचारी हो तर योग्य कर्मचारीलाई सम्मान गर्न त जान्नुपर्छ नि, सरकारले सम्मान गर्नुको सट्टा सरकारले अपमान गरेर जसको समय पनि सकिने बेलामा अपमान गर्ने जुन काम भयो त्यो खेदजनक छ ।’
यसको साथै, कुलमान घिसिङलाई हटाउनु र मन्त्रीज्यूले लोडसेडिङ भारतले अन्त्य गरेको हो कुलमानले होइन भन्नु निकै खेदजनक र दुःखद् कुरा भएको पनि उहाँको भनाइ छ ।