स्वास्थ्यमा राज्यको चार प्रतिशत लगानी पनि घट्ने खतरा छ : मन्त्री पौडेल

34

काठमाडौँ, ११ चैत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राज्यले स्वास्थ्यमा गरेको चार प्रतिशत लगानी पनि घट्ने खतरा रहेको बताउनुभएको छ ।

सोमबार काठमाडौँमा आयोजित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यक्रममा बोल्नुहुँदै उहाँले राज्यले पूर्ण रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने स्थिति नरहेकाले नागरिक योगदानमा आधारित बिमा प्रणालीको विकास आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ राज्यले ४ प्रतिशतको हाराहारीमा हुँदै गर्दा यो कुनैपनि मापदण्डमा आधारित छैन । तर, अवस्था कस्तो छ भने यही ४ प्रतिशत पनि घट्ने होकि भन्ने खतरा छ । त्यसैले राज्यले पूर्ण रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने स्थिति छैन भने नागरिक योगदानमा आधारित बिमा प्रणालीको विकास गरौँ ।’

त्यस्तै, उहाँले स्वास्थ्य क्षेत्रमा व्यापक विकास भएको भएता पनि पहुँच पुग्नेगरी विकास नभएको भन्दै स्वास्थ्य क्षेत्रमा पहुँच पुग्नेगरी विकास गर्नका निम्ति विद्यमान स्थितिलाई बदल्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘स्वास्थ्य क्षेत्रमा विकास नभएको होइन व्यापक विकास भएको छ । तर, पहुँच पुग्नेगरी विकास भएको छैन । पहुँच पुुग्नेगरी विकास भएन भने त्यसलाई विकास मानिँदैन । त्यसैले हामीले स्वास्थ्य क्षेत्रमा पहुँच पुग्नेगरी विकास गर्नका निम्ति विद्यमान स्थितिलाई बदल्न सक्नुपर्छ ।’

त्यस्तै, मन्त्री पौडेलले राज्यले आम्दानी गर्ने सबै क्षेत्रबाट थोरै भए पनि बिमामा योगदान पुग्ने स्थिति बनाउन आग्रह गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...