काठमाडौँ, २८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले लोकतन्त्रको खतरा सरकार आफैँबाट भएको बताउनुभएको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै उहाँले सरकारले सदन, सडक र सामाजिक सञ्जाल सबै नियन्त्रण गर्न सके पनि जनताको चेतना नियन्त्रण गर्न नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकार नयाँ उदाउँदै गरेको शक्तिहरुमाथि दमन गर्न उद्दत छ । सरकारले जनविश्वास गुमाइसकेको छ र गम्भीर संकटमा छ । यो सरकार आफैँले निम्त्याएको हो । सरकारले कानुनलाई प्रतिसोधको तरबार बनायो । सदनमा प्रश्नको जवाफ नदिने, सांसदलाई होच्याउने पत्रकारको पास खोस्ने । सामाजिक सञ्जाल नियान्त्रण गर्न विधेयक लिएर आउने निषेधित क्षेत्र घोषणा गरेर सडक कब्जा गर्ने यी सबै नियन्त्रणमूखी शासकका लक्ष्यणहरु हुन् । सरकारले सदन, सडक र सामाजिक सञ्जाल सबै नियन्त्रण गर्न सक्ला तर जनताको चेतना नियन्त्रण गर्न सक्दैन । त्यसैले लोकतन्त्रको असलि खतरा कोही हो भने सरकार आफैँ हो ।’