- आकांक्षा धामी
काठमाडौँ, २४ फागुन । नेपालका चलचित्र क्षेत्रका चर्चित कलाकारहरुले महिलाको भूमिका र सहभागिताबारे चासो व्यक्त गरेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रमा महिलाको भूमिका सन्तोषजनक रहेको बताउनुभयो । उहाँका अनुसार, पछिल्लो ८/१० वर्षमा महिलाहरू आफ्नो क्षमता र शक्तिलाई प्रकट गर्दै विभिन्न क्षेत्रहरूमा सक्रिय रूपमा काम गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पछिल्लो समय महिलाहरुको सहभागिता धेरै ठाउँमा एकदमै हुँदै आएको छ । खास गरेर चलचित्र क्षेत्रमा महिलाहरुको सहभागिता सन्तोषजनक छ । निर्देशनदेखि लिएर सबैखाले क्षेत्रमा महिलाहरु सक्रिय हुनुहुन्छ । समाजमा पछिल्लो ८/१० वर्षमा महिलाहरु पावरफूल रुपमा सक्रिय सहभागिता रहेको देख्न पाउँछौँ । यो खुसीको कुरा हो ।’
साथै उहाँले चलचित्र विकास बोर्ड महिलाको सशक्तिकरणका लागि सधैँ तत्पर रहेको बताउनुभयो । जुन असहजता पुरुषलाई छ त्यस्तो असहजता महिलालाई पनि रहेकाले उहाँले पहिलाको जमानामा जस्तो महिलाले कम पारिश्रमिक पाउने गरेका थिए । तर, अहिले राम्रो सीप भएका महिलाहरुले पुरुषको भन्दा बढी पारिश्रमिक ल्याएको थुप्रै उदाहरणहरु रहेको बताउनुभयो ।
‘हाम्रो समाजको परिदृश्य महिलाहरुको लागि त्यति सहज पनि छैन र असहज पनि छैन । जुन असहजता पुरुषलाई छ त्यो असहजता महिलालाई पनि छ । पहिलाको जमानामा चलचित्र क्षेत्रमा महिलाले कम पारिश्रमिक पाउने तर अहिले राम्रा स्किल भएकाहरुले पुरुषको भन्दा बढी पारिश्रमिक ल्याएको थुप्रै उदाहरणहरु छन्,’ उहाँले भन्नुभयो, ‘बोर्डले नीति नियम मात्र नभइ संविधानमा व्यवस्था भए अनुसारका रुलहरु ल्याइरहेका छौं । महिलाको सशक्तिकरणको लागि बोर्ड सधैँ तत्पर छ ।’
यसैगरी कलाकार विक्रान्त बस्नेतले पनि चलचित्र क्षेत्रमा महिला कलाकारको योगदान महत्त्वपूर्ण भएको स्वीकार्नुभयो । उहाँले भन्नुभयो, ‘पहिला महिला कलाकारलाई सुटिङको समयमा आफ्नो डे«सअप बदल्न गाह्रो हुन्थ्यो । तर, अहिले त्यो अवस्था परिवर्तन भएको छ । महिलाहरू पनि पुरुषको जस्तै समान काम गर्छन् र उनीहरूको पारिश्रमिक पनि अब बढी हुन सक्छ ।’
साथै उहाँले फिल्म क्षेत्रमा मात्र महिलाहरुलाई समस्या नभएको बताउनुभयो । उहाँले काम गर्ने हरेका क्षेत्रमा महिलाहरुलाई अभद्र व्यवहारको सामना गर्नुपर्ने अवस्था अझै पनि रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मलाई लाग्छ पहिला पहिला महिलाहरुलाई हेर्ने सोचमा केही कमी पक्कै थियो । पारिश्रमिक कम दिएर काममा लगाइन्थ्यो भने अहिले त्यो सोच हटेर महिलाहरुलाई पनि पुरुषको भन्दा बढी पारिश्रमिक पाएको अवस्था छ । फिल्म क्षेत्रमा मात्र महिलाहरुलाई समस्या छैन । हरेक क्षेत्रमा महिलाहरुलाई अभद्र व्यवहारको सामना गर्नुपर्ने अवस्था छ । तर, अभद्र व्यवहारहरु फिल्म क्षेत्रमा कम घट्छन्, किनभने यो क्षेत्र फ्रि छ ।’
नेपाल चलचित्र द्वन्द्व संघका अध्यक्ष नारायण प्रधानले पनि महिलाहरूको स्वतन्त्रता र जागरणको महत्त्वबारे कुरा गर्दै महिलाहरू अब अग्रपङ्क्तिमा रहेको बताउनुभयो । उहाँले महिलाहरु आत्मनिर्भर बन्न सफल भइसकेकाले अबको समाजमा महिलाहरूलाई पुरुषको समान स्थान र अधिकार मिल्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले महिलाहरु अग्रपङ्क्तिमा हुनुहुन्छ । महिलाहरु आफैँ जाग्ने, बोल्ने, संघर्ष गरेर आफैँ अगाडि बढ्ने स्थितिमा पुगिसक्नुभएको छ । अहिले महिलाहरु स्वयम आत्मनिर्भर भइसकेका छन् । पहिलाको महिला र अहिलेको महिलाहरुमा धेरै फरक छ । पहिला चलचित्रमा महिलालाई कम पारिश्रमिक दिने चलन पक्कै थियो । तर, त्यो अहिले छैन । विगतमा महिलाहरु एउटा टोलमा कसैसँग बोल्यो, हिँड्यो भने फलानोसँग गइ, नाक नै कटाई भन्ने थियो । तर, अहिले नारी पुरुष बराबर भन्ने सोचका साथ समाज अगाडि बढ्दैछ । समाजलाई सकारात्मक दृश्टिकोणमा ल्याने नेतृत्व अहिलेको देश हाक्नेहरुको काम हो ।’
गायक यम बराल पनि महिलाहरूको हक अधिकार सुनिश्चित हुनुपर्नेमा हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘महिलाहरूले आफ्नो लागि आफैँले लड्नुपर्छ । उनीहरूको शक्तिलाई समाजमा प्रस्तुत गर्नुपर्छ । महिलाहरूले आफ्नो अधिकारका लागि संघर्ष गर्नुपर्ने आवश्यकता छ र यसका लागि सबैले एकजुट भएर काम गर्नुपर्ने हुन्छ ।’
साथै उहाँले २१औँ शताब्दीमा महिलाले नेतृत्व गर्ने अवस्था आइसकेको बताउनुभयो । उहाँले निशङ्कोच भएर कुनै पनि क्षेत्रमा अगाडि बढ्नका लागि महिलाहरुले तयार रहनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘महिलाहरुले आफ्नो लागि आफैँले लड्न सक्नुपर्छ । एउटा महिलामा आफूविरुद्ध भइरहेको अन्यायको लागि लड्नका लागि हिम्मत चाहिँ हुनुपर्छ । समाजमा जनचेतनाको कमीले सामाजिक लैङ्गिक जस्ता महिलाहरुमाथि हिंसा हुन्छ । त्यसमा सबैको एकता र एकबद्धता चाहिन्छ । समाजको परिवर्तनका लागि पुरुष, महिला सबैले मिलेर महिलामाथि हुने हिंसाविरुद्ध लड्नुपर्छ । २१औँ शताब्दीमा अहिलेको जेनरेसन लिडरसिप गर्ने अवस्थामा छ । अहिले त कोही पुरुषभन्दा कोही पनि महिला कमजोर छैनन् । अबको ८/१० वर्षमा हरेक क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व हुन सक्छ । महिला पछि पर्छ भन्ने मलाई लाग्दैन । हरेक क्षेत्रमा आफ्नो पोजिसन आफूले बनाउने हो, आफ्नो पोजिसन बनाइसकेपछि महिलाहरु कम पारिश्रमिकमा काम गर्न बाध्य हुन सक्दैनन् । ’
यसैगरी अभिनेता प्रदीप खड्काले अहिलेका महिला कलाकार र कला क्षेत्रका पेशेवरहरूको अवस्थामा धेरै सुधार आएको बताउनुभयो । उहाँले महिलाहरुको केही पक्षहरुमा सुधार गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘महिलाहरुको दयनीय अवस्था त छैन, तर पनि केही सुधार गर्नुपर्ने अवस्था पक्कै छ । चलचित्र क्षेत्रमा पारिश्रमिक, सुरक्षाका कुराहरुमा अझै समस्या यसमा समय अनुसार विचार विर्मश गर्नुपर्छ ।’
साथै उहाँले कुनै समयमा घर बाहिर जान नपाउने महिलाहरु अहिले निर्देशक, निर्माता र प्रत्येक क्षेत्रमा अगाडि बढिरहेको बताउनुभयो ।
‘कुनै समय थियो महिलाहरुलाई घरबाट बाहिर जान नदिने समय तर अहिले महिलाहरु नै निर्देशक, निर्माता र प्रत्येक क्षेत्रमा महिलाहरु अगाडि बढ्दै छन्,’उहाँले भन्नुभयो,‘पुरुषहरु हाबी भएका कारणले महिलाहरुले स्पेस कम पाउनुभएको छ । अहिले पनि विवाह भइसकेपछि महिलाहरुले चलचित्रहरुमा कम काम पाउने अवस्था छ । यो सोचलाई चिर्दै अगाडि बढ्नुपर्छ ।’
यसैगरी चर्चित खलनायक राजेन्द्र खड्गीले महिलाको महत्त्व र सम्मानमा ध्यान दिनुपर्ने औंल्याउनुभयो । नेपाली चलचित्र क्षेत्रमा महिलाहरूको स्थान अझै सुदृढ गर्नुपर्ने आवश्यकता भएको बताउनुभयो । उहाँले महिलालाई सम्मान गर्न सिक्नुपर्छ र हरेक क्षेत्रमा उनीहरूको स्थान सुनिश्चित गर्न महिलाहरू आफैँ एकजुट भएर आवाज उठाउनुपर्ने बताउनुभयो ।
‘महिलालाई सम्मान गर्न जान्नुपर्छ । महिला बिना फिल्म नै बन्दैन । तर, नेपाली चलचित्र क्षेत्रमा महिलाहरूलाई हालसम्म आवश्यक स्थान दिन सकिएको छैन । हरेक काममा अगाडि बढ्न महिलाहरूलाई पहिलो कुरा एकजुट हुनुपर्छ र आफूले बोल्न सक्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘महिलाहरूको पारिश्रमिक कम छ । यस्तोबेला चुप लागेर काम गर्नुको सट्टा महिलाले आफ्ना स्ट्यान्डर्डहरू तय गर्नुपर्छ । पहिले पहिले फिल्म क्षेत्र पवित्र होइन भन्ने सोच थियो । तर, महिला कलाकारहरू यो क्षेत्रमा आएपछि सोचमा अलिकति परिवर्तन आएको छ ।’
साथै उहाँले महिलाहरूको कोखबाट जन्म हुने मानिसहरूले संसारलाई परिवर्तन गर्न सक्ने बताउनुभयो । खड्गीले समाजमा पुरुषको प्रभुत्वको बारेमा पनि कुरा गर्दै भन्नुभयो, ‘पुरुषबाट देश चलेको छैन । देश महिलाले चलाउनुपर्छ भन्ने मेरो सोच छ ।’ -नेपाल न्यूज बैंक