प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने काम हुन दिने छैन : सभामुख घिमिरे

18

काठमाडौँ, २३ फागुन । सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामाथि कुनै पनि हालतमा बन्देज लगाउने काम नहुने बताउनुभएको छ ।

शुक्रबार इकोनमिक मिडिया एसोसिएसन नेपाल (इमान)को दोस्रो वार्षिकोत्सव तथा तेस्रो वार्षिक साधारणसभा कार्यक्रममा बोल्नुहुँदै उहाँले सञ्चारसम्बन्धी कुनैपनि कानुनी व्यवस्था गर्दा संविधान प्रदत्त प्रेस स्वतन्त्रताको मर्मविपरीत जान नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘संसद्‌मा विचाराधिन विधेयकमाथि तपाईहरुको चासोबारे म जानकार छु । प्रेस स्वतन्त्रतामाथि कुनैपनि हालतमा कुनै पनि किसिमको बन्देज लगाउने काम हुने छैन । सञ्चारसम्बन्धी कुनै पनि कानुनी व्यवस्था संविधान प्रदत्त प्रेस स्वतन्त्रताको मर्मविपरीत जानु हुँदैन । कुनै पनि कानुनले पत्रकारिताको स्वतन्त्र अभ्यासमा अवरोध पुर्‍याउने, सूचनाको पहुँच रोक्ने वा पारदर्शीतालाई कमजोर बनाउने प्रयत्न गर्नु हुँदैन ।’

सभामुख घिमिरेले संसद् कानुन निर्माण गर्दा तोकतान्त्रिक मूल्य मान्यता र प्रेस स्वतन्त्रताको अन्तर्राष्ट्रिय मान्यतालाई आत्मासाथ गर्ने कुरामा पूर्ण प्रतिबद्धता रहेको बताउनुभयो ।

यस्तै, सोही कार्यक्रममा बोल्नुहुँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सबै क्षेत्रका मानिसले इमानमा रहेर आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने छोेटो समयमा आम नेपालीहरुले चाहेको जस्तो समृद्ध नेपाल बनाउन सकिने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो,‘हामी सबै क्षेत्रका मानिसले इमानमा रहेर आफ्नो जिम्मेवारी वास्तबमा पूरा गर्ने हो भने छोटो समयमा आम नेपालीहरुले चाहेको समृद्ध नेपाल बनाउन सकिन्छ ।’

त्यस्तै, उहाँले कतिपय राजनीतिक पार्टीको तर्फबाट विकास निर्माण, रोजगारी सिर्जना र पूर्वधार निर्माण गर्ने कुरामापनि विरोध हुने गरेको भन्दै आपत्ति जनाउनुभयो ।

‘कतिपय राजनीतिक पार्टीकातर्फबाट विकास निर्माणमार्फत रोजगारी सिर्जना गर्ने, पूर्वधारको विकास गर्ने कुराको विरोध गर्ने गरेको पाइएको छ । कतिपय संघ संस्थाहरुले पनि पूर्वाधार बनाउने कुराको विरोध गर्ने गरेको पाइन्छ । यदि नकरात्मक हिसाबकै मात्रै कुरा गर्ने हो भने, रोजगारी दिने मान्छेको विरोध मात्र गर्ने हो भने कस्तो खालको समाज बनाउन खोज्दै छौँ ? ’उहाँले प्रश्न गर्नुभयो ।

त्यस्तै, नेपाल धितो पत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारीले वित्तीय साक्षरता एकदमै न्यून रहेको भन्दै सबै वित्तीय क्षेत्रबाट सक्रिय भूूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...