रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न सोविता गौतमको आग्रह

38

काठमाडौँ, २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न आग्रह गर्नुभएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै उहाँले अन्य कानुनहरुको प्रयोग गरी रवि लामिछानेको पद निलम्बन गर्नु सरकारबाट गरिएको अन्याय, दमन र सत्ता दुरुपयोगको साक्षी बनेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो सरकारलाई लोकतन्त्रको सम्झना आए छ । पाँच महिनाको अन्तरालपछि भए पनि संसद् खोल्ने जमर्को गरेछ । यो संसद् सरकारबाट गरिएको अन्याय, दमन र सत्ता दुरुपयोगको साक्षी बनेको हो की भन्ने गम्भीर प्रश्नहरु बोकेर आएको छ । गत संसदीय निर्वाचनमा सबैभन्दा फराकिलो मतान्तरले निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेलाई राज्यले झुटो अभियोग लगायो । संसदलाई फलानो अभियोग दर्ता भएपछि त सांसद पद निलम्बन हुन्छ नि भनेर पत्र लेख्यो र संसद् सचिवालयले विशेष अधिकारको वास्ता नगरी अन्य कानुनमा टेकेर सांसदको पद निलम्बनको सूचना टाँस नै गर्‍यो । अन्य कानुनको प्रयोग गरी सांसद पद निलम्बन गर्नु कानुनविपरीत छ । त्यसैले सांसद पद फुकुवा गर्न विनम्र आग्रह गर्दछु ।’

साथै, उहाँले कानुनलाई राजनीतिक अस्त्रका रुपमा प्रयोग नगर्न समेत आग्रह गर्नुभयो । उहाँले जहाँ संसद् लोकतन्त्रको रक्षक हुनुपर्थ्यो त्यहीँबाट अन्यायको समर्थन भएको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...