केवलकार निर्माणको नाममा सरकारले दमन र सांस्कृतिक अतिक्रमण गरिरहेको छ : अशोक चौधरी

22

काठमाडौँ, २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोक कुमार चौधरीले ताप्लेजुङको मुक्कुम्लुङमा निर्माण हुन लागेको केबलकारसम्बन्धी विवाद संवादका माध्यमबाट समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै उहाँले केवलकार निर्माणको नाममा सरकारले बलजफ्ति दमन र सांस्कृतिक अतिक्रमण गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ताप्लेजुङको पवित्र भूमि मुक्कुम्लुङ जहाँ श्रद्धा र भक्ति हुनुपर्थ्यो त्यहाँ निर्दोष नागरिकको रगत बगाइएको छ । केवलकार निर्माणको नाममा सरकारले बलजफ्ति दमन र सांस्कृतिक अतिक्रमण गरिरहेको छ । स्थानीय समुदायको आवाज दबाउन बन्दुक ताक्ने सरकारको रवैया पूर्ण रुपमा अस्वीकार्य छ ।’

साथै, उहाँले सरकार दमनकारी शासक नभइ जनताको सेवक हुनुपर्ने बताउनुभयो । उहाँले केवलकार विरोधका कारण कोशी प्रदेशभर जनजीवन अस्तव्यस्त भएका नागरिकहरु र गोली प्रहार जस्ता कार्यहरुबाट घाइते भएकाहरुको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई आग्रह समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार जनताको सेवक हुनुपर्छ, दमनकारी शासक होइन । विकासको नाममा अन्याय, अत्याचार र बल प्रयोग कुनै हालतमा स्वीकार्य छैन । केवलकार विरोधका कारण कोशी प्रदेशभर जनजीवन अस्तव्यस्त, बन्दका कारण हजारौं नागरिकहरु मर्कामा परेका छन् । हिंसा र गोली प्रहार जस्ता कार्यहरु फेरी नदोहोरियोस् । घाइतेहरुको तत्काल उपचार र क्षतिपूर्तिको व्यवस्था गरियोस् । स्थानीय समुदायको सम्मान गर्दै संवादका माध्यमबाट समस्याहरु समाधान हुनुपर्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...