के हो कोशी खेलकुद विकास बोर्डको विवाद ? अदालतले भन्यो- लिखित जवाफ पेस गर्नु

45

विराटनगर, २३ माघ । कोशी प्रदेशको खेलकुद विकास बोर्डले मोरङ जिल्लाको खेलकुद विकास समिति अध्यक्ष नियुक्ति गरेको विषयमा उच्च अदालत विराटनगरले लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ ।

मंगलबार अदालतको अवहेलना मुद्दामा उच्चका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र विष्णुप्रसाद अर्यालको इजलासले बोर्डलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

उच्च अदालत विराटनगरको आदेश उल्लङ्घन गर्दै कोशी प्रदेश खेलकुद विकास बोर्डले मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेपछि अदालतमा प्रदेश खेलकुद विकास बोर्ड र बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतलाई विपक्षी बनाएर इन्द्र कुमार योञ्जन तामाङले सोमबार अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । रिट निवेदकको माग अनुसार नै किन आदेश जारी नगर्ने भन्दै कारण देखाऊ आदेश दिएको हो ।

के हो विवाद ?
कोशी खेलकुद विकास बोर्डका अध्यक्षसमेत रहेका सामाजिक विकासमन्त्री पाँचकर्ण राईको अध्यक्षतामा १७ माघमा बसेको बैठकले जिल्ला खेलकुद विकास समिति मोरङको अध्यक्षमा सुरजबहादुर श्रेष्ठलाई श्रेष्ठलाई नियुक्त गरिएको थियो । २०८० चैत २३ गते नियुक्त भएका उनै रिट निवेदक इन्द्रकुमार योञ्जन तामाङलाई हटाएर प्रदेश सरकारले श्रेष्ठलाई नियुक्त गरेको हो ।

२०८१ भदौ ४ गते खेलकुद विकास बोर्डका सदस्य सचिव बस्नेतले योञ्जनलाई निलम्बन गर्ने निर्णय गरेका थिए । आफूलाई चार वर्षका लागि काम गर्न दिनु भन्दै यसअघि उच्च अदालतको आदेशविपरीत बोर्डले काम गर्न नदिएको र नयाँ नियुक्ति गरेको भन्दै योञ्जनले रिट दायर गर्नुभएको हो । जहाँ अदालतको अवहेलनामा कारबाही गरी पाउँ भनिएको छ ।

यसअघि उच्च अदालतले नै बोर्डको निर्णय कार्यान्वयन नगर्न र योञ्जनलाई काम गर्न दिन भन्दै गत भदौ १२ गते अन्तरिम आदेश दिइएको थियो । तर, कुनै कारणविना र राजनीतिक प्रतिशोधका आधारमा बस्नेतले आफूलाई पुनः निलम्बन गरेर पार्टीका कार्यकर्ता भर्ती गराउन खोजेको योञ्जनले आरोप समेत लगाउनुभएको छ ।

खास गरी नयाँ नियुक्त हुनुभएका श्रेष्ठ एमालेनिकट हुन् भने योञ्जन माओवादी निकट मानिन्छन् । राजनीतिक रूपमा नेकपा एमालेको मोरङ जिल्ला सदस्य समेत रहनुभएका श्रेष्ठलाई सदस्यसचिव बस्नेतले नियुक्ति दिलाउनुभएको थियो । सदस्यसचिव बस्नेत २०७९ सालको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेको तर्फबाट मोरङको क्षेत्र नम्बर ६ ‘ख’ मा प्रदेश सभाको उम्मेदवार रहनुभएको थियो । त्यहाँ कांग्रेसका केदार कार्कीसँग पराजित बस्नेत नेकपा (एमाले)निकट नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ ।

मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्ष नियुक्तिको विषयलाई लिएर कोशी प्रदेशसभा बैठकमा पनि सांसदले प्रश्न उठेको थियो । प्रदेशसभाको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले चार वर्षको लागि नियुक्ति भएका योञ्जनलालाई हटाएर प्रदेश सरकारले अदालतको अवहेलना गरेको उल्लेख गर्नुभएको छ ।

बोर्डका अध्यक्ष के भन्छन् ?
यता कोशी प्रदेश खेलकुद विकास बोर्डका अध्यक्षसमेत रहनुभएका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले योञ्जनको नियुक्तिको माइन्यूट र काममा नियमित नभएकाले हटाउनु परेको उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘योञ्जनलाई बोर्डको कतिऔँ बैठकले निर्णय गरेको हो ? त्यो हुनुपर्‍यो नि, त्यो नभएको र अहिले आवश्यक्ताका महसुस गरेर अर्को नियुक्ति गरिएको हो ।’

राईले यो सम्बन्धी मुद्दा अदालतमा समेत रहेकाले अदालतले नै निकास दिने बताउनुभयो । -नेपाल न्यूज बैंक

Share This:
सम्बन्धित खबर
Loading...