बागमती पुलको स्पान भासिएपछि यात्रामा जोखिम

9

रौतहट, १६ माघ । पूर्व-पश्चिम राजमार्ग सडक खण्डमा पर्ने बागमती नदीको पुलको एउटा स्पान भासिएको छ । रौतहट र सर्लाही जिल्लाको सिमनामा पर्ने बागमती पुलको स्पान भासिएपछि सवारी दुर्घटनाको उच्च जोखिम बढेको हो ।

नेपाल सोभियत संघ मैत्री सहयोगअन्तर्गत करिब ५० वर्षअघि बागमती नदीको पुल बनेको थियो । लामो समयदेखि पुल मर्मत सम्भारमा ध्यान नदिँदा क्रमशः पुरानो हुँदै भौतिक संरचनाहरु कमजोर भएको चन्द्रपुर नगरपालिका वडा नम्बर १ का स्थानीय श्रीराम न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार पुलको भारवहन क्षमताभन्दा अधिक लोड भएका ढुवानीका साधनहरु गुड्ने गरेकाले पुल भासिएको हो । पुलको स्पान भासिएकाले भारवहन क्षमता अधिक भएका गाडी सञ्चालनमा ध्यान दिनु पर्ने उहाँको सुझाव छ ।

बागमती पुलको बेरिङ्ग फुट्दा जोडिएको दुई स्परको अन्तर भएको र यसले जोखिम निम्त्याउन सक्ने भएकाले शीघ्र मर्मत गर्नु पर्ने उहाँको माग छ ।

सर्लाहीबाट रौतहटतर्फ आउँदा सात नम्बरको स्पर करिब ८ सेन्टिमिटर भासिएको डिभिजन सडक कार्यालय चन्द्रपुरले जानकारी दिएको छ । बागमती नदिको पुलको बेरिङ फुटेकाले जोडिएका दुई स्पानबीचको अन्तर बढेको डिभिजन सडक कार्यालय चन्द्रपुरका इन्जिनियर प्रकाश यादवले बताउनुभयो । पुलको एउटा स्पान भासिनेबित्तिकै पूरै संरचना नै कमजोर हुने उहाँको भनाइ छ ।

सडक डिभिजन कार्यलयले पुलको जोखिमबारे पुल महाशाखा काठमाडौँलाई पत्रमार्फत् जानकारी गराइसकेको छ । पुलमा अधिक भारवहन क्षमताका गाडीमा ध्यान दिन रौतहट र सर्लाहीका ट्राफिक प्रहरी कार्यालयलाई पत्रचार गरिसकेको सडक डिभिजन कार्यालय चन्द्रपुरका प्रमुख अरुण कुमार लाल कर्णले बताउनुभयो ।

उहाँका अनुसार यस सडकखण्ड भएर जाने भारवहन क्षमताका सवारी साधन पुलमा एक पटकमा एउटा मात्रै सञ्चालन गर्ने व्यवस्था गरिएको छ । अहिले पुलको स्पर केही भाग अग्लो, केही भाग होचो देखिएकाले सवारी साधन चलाउँदा सावधानी अपनाउन सडक डिभिजन कार्यालयले आग्रह गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...