समाजवादी मोर्चालाई प्रभावकारी रुपमा अगाडि बढाउन सकिएन : माघव नेपाल

16

काठमाडौँ, १५ माघ । नेकपा (एकृकीत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले समाजवादी मोर्चालाई प्रभावकारी रुपमा अगाडि बढाउन नसकेको बताउनुभएको छ ।

मंगलबार काठमाडौँमा आयोजित ‘समाजवादी मोर्चा, नेपालको राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार’ विचार सभालाई सम्बोधन गर्नुहुँदै उहाँले मेचीदेखि महाकालीसम्म देशदेखि विदेशसम्म राजनीतिमा तरंग पैदा गर्नसक्ने तीन घटक एक हुँदा पनि प्रभावकारी काम नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले यो समाजवादी मोर्चालाई वास्तवमा जसरी अगाडि बढाउनु पर्ने थियो बढाउन सकेनौँ । यसलाई गतिशील गर्नैपर्छ । तीनवटा घटक त हामी नै छँदै छौँ । यी तीनवटा घटक पुरानै घटक हुन् । मेचीदेखि महाकालीसम्म देशदेखि विदेशसम्म राजनीतिमा तरंग पैदा गर्न सक्छौँ । त्यो क्षमता र शक्ति छ । यो सँगै आफ्नो पार्टीका गतिविधि पनि बढाइरहेका छौँ । किनभने एकतामा नै बल हुन्छ ।’

यसको साथै उहाँले देशव्यापी रुपमा सन्देश सभाहरु भइरहेको अवस्थामा अहिलेका प्रधानमन्त्रीले दलहरु विभाजित हुने अवस्था सिर्जना गरेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देशैभर सातैवटा प्रदेशमा सन्देश सभाहरुको आयोजना गर्‍यौँ । समाजवादी मोर्चाको सन्देश सभा भयो र राम्रो नै प्रस्तुति भएको थियो । प्रदेशपछि जिल्लामा पनि यस्ता सभा हुन्छ कि भन्ने आशा गरिरहेको थियो तर त्यो गर्न सकेनौँँ । किनभने राष्ट्रिय राजनीतिमा केही परिवर्तनहरु भए । आन्तरिक काममा व्यस्त हुने अवस्था भयो । घटक दलहरु विभाजित हुने अवस्था पनि भयो । जनता समाजवादी पार्टी नेपाल विभाजित भयो । यो विभाजन अरुले गरेको होइन अहिलेका प्रधानमन्त्रीले नै गरेका हुन् ।’

गफमा अगाडि परिणाममा सधैँ पछाडि पर्ने अवस्था भएको हुनाले जनताले विकल्पको खोजी गरिरहेकाले ०८४ को चुनावको पर्खाइमा रहेको उहाँले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...