आगामी चुनाव देउवाको नेतृत्वमा सम्पन्न हुन्छ : मन्त्री सिंह

12

बागलुङ, ८ माघ । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले लोकतन्त्रलाई प्रहार गर्न चाहने तत्वहरू नेपाली कांग्रेसलाई कमजोर बनाउने प्रयासमा रहेको बताउनुभएको छ ।

मंगलबार नेपाली कांग्रेस बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाँले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने बताउनुभयो ।

विगतमा जनताको गुमेको अधिकार नेपाली कांग्रेसले पुनःस्थापित गरेको भन्दै अहिले प्राप्त अधिकारको रक्षाका लागि सुदृढ र एकतावद्ध कांग्रेस आवश्यक रहेकोमा उपप्रधानमन्त्री सिंहले जोड दिनुभयो ।

त्यस्तै, उहाँले अहिले कांग्रेस र एमालेबीचको सहकार्य स्थिर सरकार होस् भन्ने नागरिकको चाहना र समयको मागअनुसार नै भएको पनि प्रष्ट पार्नुभयो । सरकार ७ बुँदे सहमतिकै भावनाअनुसार अघि बढिरहेको भन्दै उहाँले सहमतिअनुसार नै कांग्रेस–एमालेबीच सत्ता सहयात्रा अघि बढ्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गत चुनावपछि बनेका सरकारहरू लामो समय टिकेनन् । स्थिर सरकार बनोस् भन्ने चाहना अनुरूप नै वर्तमान सरकार बनेको हो । ७ बुँदे सहमतिअनुसार सरकार अघि बढ्छ । सहमतिअनुसार नै कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनाव हुन्छ ।’

उहाँले कांग्रेसको स्वभाव सबैलाई मिलाएर अघि बढ्ने रहेको भन्दै पार्टीभित्र पनि सबै पक्षलाई नेतृत्वमा रहने गरि मिलाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...