नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलालको स्मृतिमा लोकमार्ग घोषणा

4

रामेछाप, २८ पुस । नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलालको स्मृतिमा कृष्णलाल लोकमार्ग नामाकरण गरिएको छ ।

‘मकैको खेती’ नामक ऐतिहासिक कृतिका लेखक स्वर्गीय कृष्णलाल अधिकारीको स्मृतिमा रामेछापको मन्थलीबाट कठजोर हुँदै धोबी पुग्ने सडकलाई ‘कृष्णलाल लोकमार्ग’ नामाकरण गरिएको हो ।

शुक्रबार सम्पन्न मन्थली नगरपालिकाको १६औँ नगर अधिवेशनले सो सडकलाई कृष्णलाल लोकमार्ग घोषणा गर्ने निर्णय गरेको मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

करिब २ किलोमिटर लामो सो सडक प्रदेश सरकार र मन्थली नगरपालिकाको लगानीमा सुधार र विस्तार हुँदै आएको छ । हाल वडा नम्बर–२ को वडा कार्यालय नजिकसम्म सडक कालोपत्र भएको छ । सडकको थप कालोपत्र गर्ने काम अघि बढिरहेको छ ।

सुब्बा कृष्णलाल अधिकारीको जन्म विसं १९४४ साल माघ २४ गते हालको मन्थली नगरपालिका–२ मा कठजोरमा भएको थियो । राणा शासनकालमा सुब्बाको जागिरे कृष्णलालले मकैको खेती नामक पुस्तक प्रकाशन गरेका थिए । सो पुस्तकमा मकै खेतीमा राता टाउके र काला टाउके किरा लाग्छन् भनि अधिकारीले लेखेको थिए ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई मकैको खेतीमा लेखिएको काला टाउके भनेको राणाका भाइदार र राता टाउके भनेको प्रधानमन्त्री स्वयंलाई नै भनेको हो भनेर पोल लगाएर कृष्णलाललाई जेल हाल्न उक्साएका थिए । सोही आरोपमा अधिकारीलाई तत्कालीन राणा श्री ३ चन्द्रशमशेरले १९७७ साउन ११ मा ९ वर्ष कैद सुनाए र जेल हालेका थिए ।

नेल र हत्कडीसहित कठोर यातना दिइ जेलभित्र राखिएका अधिकारीलाई प्रकाशित सबै पुस्तक बुझाएमा तीन वर्ष कैद मिनाहा गर्ने भनिएको थियो । एक हजार प्रति प्रकाशित गरिएको उक्त पुस्तकका ९ सय ९९ प्रति भेटिए र ती सबै जलाइए । एक प्रति पुस्तक भने नभेटिएको कारण उनको कैद सजाय घटेन ।

जेलमा रहेका अधिकारीलाई क्षयरोग लाग्यो । त्यही रोगले थलिएर अधिकारीको विसं १९८० मा जेलमा नै निधन भयो । कृष्णलालको स्मृतिमा उनको जन्मथलो कठजोरमा अर्ध कदको सालिकसहितको पार्क पनि निर्माण भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...