स्वास्थ्य विज्ञान विश्वविद्यालयको निर्माण आवश्यक छ : मन्त्री भट्टराई

10

काठमाडौँ, २५ पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माणको कुरामा सबैले प्रतिबद्धता जनाएको बताउनुभएको छ ।

बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफलमा उहाँले स्वास्थ्य विज्ञान विश्वविद्यालय आवश्यक छ भन्ने कुरा आम रुपमा उठेको र संसद्‌मा सबैले प्रतिबद्धता पनि जनाएको भन्दै सबैले एकजुट भएर विश्वविद्यालय निर्माण गरेर जानुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अर्को कुरा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सन्दर्भमा स्वास्थ्यमन्त्रीले अस्ति बोल्नुभएको कुराले थोरै विवाद आएको जस्तो लाग्छ तर उहाँको आँखाले देखिसकेपछि एउटा भाव व्यक्त गर्नुभएको हो तर मलाई के लाग्छ भने स्वास्थ्य विज्ञान विश्वविद्यालय आवश्यक छ भन्ने कुरा आम रुपमा उठेको र संसद्‌मा सबैले प्रतिबद्धता जनाएको पनि हो । सबैले आवश्यक छ भनेको विश्वविद्यालय निर्माण गरेर जाउ ।’

यसका साथै उहाँले लामो समयदेखि बैठक र सभा हुन नसकेको सिटिइभिटीको दुवै बैठक राखेको भन्दै यसलाई नियमित गर्ने प्रयास गरेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘६९ सालदेखि काम हुन नसकेको सिटिइभिटीको परिषद्को बैठक म जाँदा ११ महिनादेखि बसेको थिएन । सिटिइभिटीको सभा भनेर ८ वर्षदेखि बसेको थिएन, जसले नीति गत निर्णय गर्नुपर्ने थियो, मैले सभा र बैठक दुवै राखिसकेपछि एक ढङ्गले त्यसलाई नियमित गर्ने प्रयास गर्दै छु । लामो समयदेखि बेथितिमा रहेको ठाउँलाई बनाउन समय लाग्छ । त्यसकारण आजै यो किन भएन भनेर भनिराख्दा त्यसलाई बनाउनु गर्नुपर्ने प्रयत्नहरु अझै बाँकी छन् । त्यसैले हामीले आज समितिले दिएको सबै निर्देशनलाई पालना गर्ने दायित्व सरकारको हो । गर्नुपर्छ तर त्यसको लागि हुने कानुनी जटिलता र प्रक्रियाहरु फुकाउनु पर्ने हुँदा त्यो फुकाउनका लागि केही समय लाग्ने हुँदा यसवर्ष तपाईले भन्नुभएको सबै काम गर्नका लागि अर्को क्यालेन्डर पर्खिनु पर्ने कुरा अनुरोध गर्न चहान्छु ।’

यसको साथै समिति सभापति अम्मर बहादुर थापाले समितिबाट निर्देशन भएर गएको विषयको प्रगतिबारे अनिवार्य रुपमा जानकारी गराउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जे कुराको समितिले निर्णय गरेर पठाउँछु । त्यो कुराहरुको के कस्तो प्रगति भएको छ, छैन वा गर्दै छौँ भन्ने कुराको पनि जानकारी समितिमा आउनुपर्छ । यो मन्त्रीज्यूलाई एउटा मेरो आग्रह छ ।’

Share This:
सम्बन्धित खबर
Loading...