‘सत्तामा हुँदा धर्म बिर्सने र बाहिर जानेबित्तिकै पवित्र ठान्ने प्रवृत्ति छ’

13

काठमाडौँ, १९ पुस । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सत्ताभन्दा बाहिर जाँदा सबैभन्दा बढी पवित्र हुने र सत्तामा हुँदा त्यसलाई बिर्सने खालको परिस्थिति निर्माण भएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौँमा आयोजित पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीको पद हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै उहाँले एकले अर्कोलाई दोष लगाउने खेलहरु भइरहेको भन्दै भ्रष्टाचार नियन्त्रणका लागि एउटा निश्चित मापदण्ड बनाउन आवश्यक रहको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले धेरै ब्लेम गेमहरु गर्‍यौँ । एकले अर्कोलाई दोष लगाउने । अर्कोले अर्कोलाई दोष लगाउने । जब सत्ताभन्दा बाहिर गयो सबैभन्दा बढी पवित्र हुने सत्तामा हुँदा जो भए पनि त्यसलाई बिर्सने खालको जुन स्थिति छ । त्यसलाई एउटा निश्चित मापदण्ड बनाउ भ्रष्टाचार नियन्त्रणका लागि ।’

उहाँले शासनको पहिलो सर्त भ्रष्टाचारमुक्त समाज रहेको भन्दै जबसम्म भ्रष्टाचार मुक्त समाज निर्माण गर्न सकिँदैन तबसम्म सुशासन कायम नहुने बताउनुभयो । वर्तमान समयमा सुशासनको सट्टा दुशासनको परिवेश निर्माण भएको पनि उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामी सुशासनको नाममा निरन्तर भक्ति त प्रदर्शन गरिरहेको छौँ, तर सुशासनको पहिलो र प्रमुख सर्त भनेको भ्रष्टाचारमुक्त समाज हो । जबसम्म भ्रष्टाचार मुक्त समाज निर्माण गर्न सकिँदैन तबसम्म सुशासन कायम हुँदैन । त्यो सुशासनको सट्टा दुशासनको परिवेश निर्माण भएको अवस्था छ ।’

सबै भ्रष्टाचारका फाइलहरु खोल्ने भन्दा पनि जे जति चर्चामा छन् त्यो फाइलहरुलाई पहिला टुङ्गो लगाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

त्यस्तै, नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले अहिले निर्णायक, स्टेक होल्डरका रुपमा अग्र मोर्चामा उभिएको शक्ति भनेकै नेपालका पत्रकारहरु रहेको बताउनुभयो । मिडिया क्षेत्रलाई अझ व्यवस्थित तरिकाले अगाडि बढाउनका लागि श्रमजीवी पत्रकारहरुको हकका लागि काम गर्न महासंघले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘विधमान शासकीय प्रणालीमा हामी जसरी उभिएका छौँ । यसका लागि एउटा निर्णायक, स्टेक होल्डरका रुपमा अग्र मोर्चामा उभिएको शक्ति कोही हो भने त्यो नेपालका पत्रकारहरु हुन् । मिडिया क्षेत्र हो, यसलाई अझ व्यवस्थित तरिकाले अगाडि बढाउनका लागि श्रमजीवी पत्रकारहरुको हकका लागि काम गर्न महासंघले भूमिका खेल्नु पर्नेछ ।’

त्यस्तै, मिडियाकर्मीहरुको आर्थिक, भौतिक, सामाजिक सुरक्षा नभएको भन्दै त्यसको लागि पनि महासंघले काम गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘आज समाजमा यो क्षेत्रका धेरै चुनौतीहरु पनि छन् । जनतालाई साँचो अर्थमा सत्य सूचना प्रवाह गर्ने महत्त्वपूर्ण दायित्व तपाईंहरुको काँधमा छ । मिडियाकर्मीहरुको आर्थिक, भौतिक, सामाजिक सुरक्षा छैन यसको लागि पनि महासंघले काम गर्नुपर्छ ।’

सोही कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघकी नवनिर्वाचित अध्यक्ष निर्मला शर्माले पहिलो मुद्दाको रुपमा श्रमजीवी पत्रकारहरुको हकहित नै हेरेको भन्दै निष्पक्ष ढंगले त्यसैमा लागेर काम गर्ने बताउनुभयो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार हुने कुनै पनि तत्वसँग सहकार्य नगर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘म स्वतन्त्र रुपमा काम गरिरहेको हुनाले मैले कसैको नुन खाको छैन । यसकारण पहिलो मुद्दा भनेको श्रमजीवी पत्रकारहरुको हकहित नै हो । यसमा कुनै खालको आसंका गर्नु पर्दैन । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार हुने कुनै पनि तत्वसँग हाम्रो सहकार्य हुँदैन ।’

उम्मेदवार हुने क्रममा धेरै आरोपहरु पत्रकारमाथि नै लाग्ने गरेको भन्दै महासंघमा पक्ष र विपक्ष भएर लडे पनि अब पत्रकार महासंघ जिल्ला, सबै देशभरका शाखा र केन्द्र एउटा छातामुनि बसेर काम गर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘उम्मेदवार हुने क्रममा अथवा बन्ने क्रममा धेरै आरोपहरु पत्रकारमाथि लाग्छ । अब त्यो कुराहरु सक्यो पत्रकार महासंघमा पक्ष र विपक्ष भएर लडे पनि अब पत्रकार महासंघ जिल्ला, सबै देशभरका शाखा र केन्द्र एउटा छातामुनि छौँ हाम्रो पक्ष विपक्षको मत सक्यो ।’

Share This:
सम्बन्धित खबर
Loading...