कार्यक्षमताको हिसाबले हेर्दा नेपालको न्यायपालिका विश्वकै उच्च स्थानमा छ : मन्त्री चौरसिया

2

काठमाडौँ, ३ पुस । कानुनमन्त्री अजय कुमार चौरसियाले इतिहासको मूल्याङ्कन गर्दा नेपालको न्यायपालिका कार्यक्षमताको हिसाबले विश्वकै उच्च स्थानमा रहेको बताउनुभएको छ ।

बुधबार काठमाडौँमा न्याय परिषद्को ३४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले प्रत्येक राजनीतिक उतारचढावमा बिचलित नभइ गरेको उत्कृष्ठ फैसलाहरुको इतिहासलाई हेर्दा नेपालको न्यायपालिका उच्च स्थानमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सम्माननिय अदालतले प्रत्येक राजनीतिक उतारचढावमा अलिकति पनि बिचलित नभइकन प्रत्येक अवस्थामा समानजनक उत्कृष्ठ फैसलाहरु गरेको यो इतिहास नेपालको न्यायपालिका विश्वकै कार्यक्षमताको हिसाबले जसले मूल्याङ्कन गर्दा पनि उच्च मूल्याङ्कन गर्ने अवस्था छ ।’

उहाँले देश आफैँ अप्ठ्यारो अवस्थाबाट गज्रिरहेको अवस्थामा सरकारले न्याय सेवामा बजेट पर्याप्त दिन नसेकेको गुनासो गर्नुभयो ।

देशको ओरालो लागेको अर्थतन्त्रलाई सुधार गर्ने, देशमा भ्रष्टाचार अन्त्य गरी कसरी सुशासनमा परिणत गर्ने भन्ने कुरामा न्यायलयको निर्देशनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

यस्तै, सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपरिषद्लाई जतिसक्दो गतिशील र जिम्मेवार बनाउन सकिन्छ त्यति नै विकृति र विसङ्गति गतिविधिमा नियन्त्रण गर्न सकिने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो,‘न्यायपरिषद्लाई जतिसक्दो गतिशील र जिम्मेवार बनाउन सकिन्छ । त्यति नै विकृति र विसङ्गति गतिविधिमा नियन्त्रण गर्न सकिन्छ । न्यायपरिषद्ले सम्पादन गर्ने कुनै पनि काम कारबाही पारदर्शी हुनुपर्ने हुन्छ ।’

न्यायाधीशको नियुक्ति सरुवा अनुशासनसम्बन्धी कारबाही लगायतका विषयमा सिफारिस गर्ने निकायको रुपमा परिषदीय प्रणाली अबलम्बन गरी न्यायपालिका, सरकार र यसको सरोकारवाला निकायहरुको अभिमत व्यक्त गर्ने सामूहिक थलोको रुपमा परिषद्लाई आत्मसाथ गरिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,‘न्यायाधीशको नियुक्ति सरुवा अनुशासनसम्बन्धी कारबाहीलगायतका विषयमा सिफारिस गर्ने निकायको रुपमा परिषदीय प्रणाली अवलम्बन गरी न्यायपालिका, सरकार एवम् यसको सरोकारवाला निकायहरुको अभिमत व्यक्त गर्ने सामूहिक थलोको रुपमा सम्बन्धित न्याय परिषद्लाई आत्मसाथ गरिएको छ ।’

Share This:
सम्बन्धित खबर
Loading...