सरकारमा गएका मन्त्रीहरुको पद सुरक्षित छैन : मन्त्री यादव

15

काठमाडौँ, २७ मंसिर । खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रीहरुको पद सुरक्षित नरहेको बताउनुभएको छ ।

बिहीबार खानेपानी, सरसफाइ तथा स्वच्छता पैरवी राष्ट्रिय शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले स्थानीय तहका मेयरहरुको पद पाँच वर्षसम्मका लागि सुरक्षित भए पनि सरकारमा गएका मन्त्रीहरुको पद सुरक्षित नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नयाँ कुरा केही छैन । राजनीतिकर्मीहरु बुझिहाल्नु हुन्छ । मेयर सापहरुको पद त पाँच वर्षसम्म कसैले हल्लाउन सक्दैन । तर, दुई तिहाइको सरकार भएर पनि मन्त्रीहरुको पदको सुरक्षा छैन । पद सुरक्षित छैन । राजनीतिक कुरा हो यस्तो भइहाल्छ ।’

साथै, उहाँले राजनीति व्यक्तिहरुले बोलिबचनमा प्रतिबद्घ हुनुपर्ने बताउनुभयो । उहाँले आफू जति दिन पदमा बसिन्छ त्यो समयमा इमानदारी पूर्वक काम गर्ने बताउनुभयो । उहाँले युवामाथि नागरिकको विश्वास रहेको बताउनुभयो । साथै राजनीतिक व्यक्तिहरुले जनताको कुरा कार्यान्वयन गर्नकै लागि अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिमा आएका युवाहरुमाथि जनताको विश्वास छ । त्यसैले हामी राजनीति व्यक्तिहरुले बोलिबचनमा प्रतिबद्घ हुनुपर्छ । हामीले जनताको सपना बोकेर राजनीतिमा आउनुपर्छ, र आएका पनि छौँ । जनताको कुरा कार्यान्वयन गराउनका निम्ति हामीले अगाडि बढ्नुपर्छ ।’

यसैगरी उहाँले सरसफाइ तथा स्वच्छता पैरवी राष्ट्रिय शिखर सम्मेलन गर्न प्लान गर्नुपर्ने बताउनुभयो । उहाँले हरेक दिन, हप्ता र महिनामा प्लान गरेर शिखर सम्मेलन गर्न सके मात्र सफल हुने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...