काठमाडौँ, २५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित ७६औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा दुरुपयोगको खतरा विषयक नागरिक संवाद कार्यक्रममा उहाँले नेपालमा ठुलो लगानीको आवश्यकता भएको र लगानी गर्ने मान्छेहरु पनि भएको भन्दै त्यसको लागि राम्रो वातावरण बनाउन सक्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अर्को कुरा भनेको लगानी हो । हामीले ठुलो लगानी गर्नुपर्छ र त्यसको लागि पुँजी कसैले दया, माया गरेर आउँदैन । नेपालमा अहिले तीनवटा अन्तर्राष्ट्रिय कम्पनीहरु जसले ठुलो लगानी गरे तर नेपालको सरकारले उसले कमाएको मुनाफा लिने कुरामा अवरोध सिर्जना गरेको हुनाले अब बाहिरका कुनै पनि कम्पनीहरु नेपालमा लगानी गर्न आउने कुरामा डराइरहेका छन् । हामीलाई ठुलो लगानी चाहिएको छ । लगानी गर्ने मान्छेहरु नाफा कहाँ छ भनेर हिँडिरहेका छन् । उनीहरुको लागि नेपाल एउटा राम्रो ठाउँ बन्न सक्छ वातावरण बनाउन सक्नुपर्छ ।’
यस्तै, उहाँले नेपालमा लाखौँ रोजगारीको आवश्यकता भएको भन्दै यसमा निजी क्षेत्रको ठुलो भूमिका रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा लाखौँ रोजगारी चाहिएको छ । त्यो निजी क्षेत्रले बनाउँछ । त्यसको लागि एउटा इको सिस्टम बनाउनुपर्ने छ ।’