काठमाडौँ, १६ मंसिर । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले बालिकाहरुको अधिकार र संरक्षणप्रति गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याउँदै बालिकाहरुलाई उनीहरुको बालापन नै जिउन दिनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय एचआइभी महासंघद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले बालिकाहरुलाई समयभन्दा अगाडि परिपक्व बन्ने दबाब दिनु अनुचित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बालिकाहरुलाई बालिका नै रहन दिउ । उनीहरुलाई तरुनी नबनाऊ ।’
कोइरालाले बालिकाहरुको शिक्षामा सहज पहुँच, स्वास्थ्य सेवामा सरलता प्रदान गर्न आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘बालिकाहरुको उचित पालनपोषण, संरक्षण, र शिक्षाको पहुँच सुनिश्चित गर्नु हाम्रो सामूहिक दायित्व हो । उनीहरुको भविष्य सुनिश्चित गर्ने काम गर्न सबै पक्षले हातेमालो गर्नुपर्छ ।’
कोइरालाले एड्स दिवसलाई खासै मान्छेहरुले मान्यता नदिएको दुखेसो गर्नुभयो । कार्यक्रममा एचआइभी/एड्ससम्बन्धी जनचेतना फैलाउन समाजका सबै पक्षले सक्रिय सहभागिता जनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले देश हाँकिरहेकाहरुले एचआइभी/एड्स न्यूनीकरण र वालिका बचाउ अभियानमा लाग्नुपर्ने बताउनुभयो । देश सफा गर्न सबै जुट्नुपर्नेमा कोइरालाको भनाइ थियो ।