काठमाडौँ, ३ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वर्गीय दमननाथ ढुंगाना नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्व भएको बताउनुभएको छ ।
सोमबार पूर्वसभामुख, दमननाथ ढुंगानाको पार्थिब शरीरमा पुष्प अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष प्रचण्डले शन्ति सम्झौता बनाउन र संविधान सभाको वातावरण बनाउनमा खेलेको भूमिका अविश्मरणीय रहने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आदरणीय दमननाथ ढुंगाना नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्वको रुपमा नेपाली जनताले सधैं सम्झिरहने छन् । दमननाथ ढुंगाना र पद्मरत्न तुलधर दुई जना व्यक्तित्वले शान्ति सम्झौताको वातावरण बनाउन, संविधान सभाको वातावरण बनाउन र देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको भूमिका अविश्मरणीय ठान्छु मैले ।’
साथै उहाँले नेपाली जनताले देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको ढुंगानाको योगदानलाई सधैँ सम्झिने बताउनुभयो ।