काठमाडौँ, २ मंसिर । विराटनगर किंग्सले चर्चित अभिनेता दयाहाङ राईलाई आगामी नेपाल प्रिमियर लिग (एनपिएल)का लागि आफ्नो ब्राण्ड एम्बेसडर घोषणा गरेको छ ।
आइतबार काठमाडौँमा आयोजित एक पत्रकार सम्मेलनमा राईलाई ब्राण्ड एम्बेसडर घोषणा गरिएको हो ।
ब्राण्ड एम्बेसेडरको रूपमा बिराटनगर किङ्ग्समा आबद्ध भइ राईले नेपाली खेलकुदमा पनि आफ्नो उपस्थिति जनाउनुभएको हो । उहाँले यो टिमसँग जोडिन पाउँदा खुसी लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विराटनगर किङ्ग्सको लागि यो एउटा नयाँ आयाम हो । विराटनगर किङ्ग्सले यो अवसर दिएकोमा धेरै धेरै धन्यवाद । टिमसँग जोडिन पाउँदा निकै खुसी लागेको छ । क्रिकेटले हामी सबैलाई धेरैसँग जोडेको छ । क्रिकेटले नेपाललाई विश्वसँग नै जोडेको छ ।’
साथै उहाँले क्रिकेटले गर्दा नेपाली खेलहरुलाई नजिकबाट बुझेको बताउनुभयो । उहाँले खेलले नै हामी सबैलाई ठुलो धैर्यता सिकाएको बताउनुभयो ।
नेपाल प्रिमियर लिग (एनपिएल) आगामी १५ मंसिरदेखि ६ पुषसम्म चल्ने छ ।