काठमाडौँ, १३ कात्तिक । नेपाल र बंगलादेशका सञ्चारकर्मी एवम् अभियन्ताहरुबीच यौनिक तथा लैङ्गिक अल्पसंख्यक (एलजिबिटिआई)समुदायका मुद्दाका विषयमा साक्षात्कार गरिएको छ ।
ब्लु डाइमण्ड सोसाइटीको आयोजनामा मंगलबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बंगलादेश र नेपालमा समुदायका मुद्दाहरुले पाइरहेको प्राथमिकताका विषय एवम् उठिरहेको मुद्दाका विषयमा सहभागीहरुले धारणा राखेका थिए ।
बंगलादेशबाट आएका विप्लव रोयले एलजिबिटिआई समुदायका मुद्दा र मानवीय व्यवहारमा बंगलादेशमा क्रमशः परिवर्तन आउँदै गएको धारणा राख्नुभयो । उहाँले मुस्लिम देश भएकाले धार्मिक रुपमा प्रशस्त चुनौतीहरुको सामना गर्दै अघि बढ्नुपरेको भएपनि पछिल्ला वर्षहरुमा मिडिया र सरकारले सकरात्मक भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
ब्लु डाइमण्ड सोसाइटीकी अभियन्ता भूमिका श्रेष्ठले नेपालमा संवैधनिक रुपममा नै समुदायलाई सम्बोधन गरिए पनि कानुनी रुपमा अझै धेरै कामहरु बाँकी रहेको औंल्याउनुभयो । दक्षिण एसियाली मुलुकहरुमध्ये नेपाल उदाहरणीय मुलुक रहेको उल्लेख गर्दै समुदायका मुद्दाहरुका सवालमा नीतिगत सुधार भए पनि व्यवहारिक कार्यान्वयनमा जटिलताहरु रहेको बताउनुभयो ।
नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष नकुल अर्यालले समुदायका मुद्दाहरु नेपाली मिडियाहरुले उच्च रुपमा प्राथमिकता दिएको बताउनुभयो ।
उहाँले नेपाल प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको आचार संहितामा पनि लैङ्गिक विभेद गर्न नपाइने उल्लेख गरेकाले नेपाली मिडियाहरुले आचार संहिताअनुसार नै समुदायका व्यक्ति र मुद्दालाई उचित स्थान दिएको जानकारी दिनुभयो । साक्षात्कारमा सहभागीहरुले दुवै देशका अनुभव र व्यवस्थाबारे चर्चा गरेका थिए ।