एल क्लासिको भिडन्त : घरेलु मैदानमै रियल मड्रिड स्तब्ध

11

काठमाडौँ, ११ कात्तिक । स्पेनिस ला लिगाको एल क्लासिकोमा बार्सिलोनाले शानदार जित दर्ता गरेको छ । आइतबार बिहान सकिएको खेलमा बार्सिलोनाले चिरपरिचत प्रतिद्वन्द्वी रियल मड्रिडमाथि ४–० एकतर्फी जित दर्ता गरेको हो ।

लामो समयदेखि लिगमा अपराजित रहेको रियल मड्रिडले अन्ततः आफ्नो पहिलो ला लिगाको हार एल क्लासिकोमा भोग्न बाध्य भयो ।

बार्सिलोनाले रियलको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा ४–० को शानदार जित हात पार्दा रोबर्ट लेवान्डोस्कीले २ गोल गर्दा लामिन यामाल र राफिन्हाले एक एक गोल गरेका थिए ।

पहिलो पटक एल क्लासिको खेलका केलियन एम्बाप्पेले गरेका २ गोल भारमार्फत् रद्द भएका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै ४ गोल बार्सिलोनाले दोस्रो हाफमा गरेको थियो ।

३१औँ मिनेटमा एमबाप्पेले गरेको गोल अफसाइड भएको थियो । यदि एम्बाप्पेको गोलले खाता खोलेको भए, खेलको दिशा परिवर्तन हुन सक्थ्यो ।

दोस्रो हाफमा बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने लामिन यामाल र राफिन्हाले एक एक गोल गर्दै जित दिलाए ।

५४औँ मिनेटमा बार्सिलोनाका लागि लेवान्डोस्कीले गोलको खाता खोल्दै अग्रता दिलाए । लगत्तै ५६औँ मिनेटमा लेवान्डोस्कीले हेडरमार्फत् व्यक्तिगत र टिमका लागि दोस्रो गोल गर्दै अग्रता पनि दोब्बर पारे ।

६६औँ मिनेटमा पनि एम्बाप्पेले गरेको गोल अफसाइड हुँदा रियल मड्रिड निराश भएको थियो ।

७७औँ मिनेटमा लामिन यामालले गोल गरेपछि पाहुना टोली बार्सिलोना फराकिलो जिततर्फ अग्रसर भएको थियो । ८४औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई ४–० को सहज र शानदार जित दर्ता गराए ।

जितपछि बार्सिलोनाले ११ खेलबाट ३० अंक बनाएर आफूलाई शीर्ष स्थानमा यथावत राखेको छ । साथै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल मड्रिडलाई ६ अंकले पछि छोडेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...