१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छ : मन्त्री चौधरी

46

काठमाडौँ, ३० भदौ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर २ देखि ९ सम्म कर्णालीको सुर्खेतमा आयोजना गरिएको छ । १०औँ राष्ट्रिय खेलकुदका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ मा बन्दै गरेको रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको पनि मन्त्री चौधरीले बताउनुभयो ।

मन्त्री चौधरीले भन्नुभयो, ‘पहिलोपल्ट कर्णाली प्रदेशको आफ्नै लगानीमा सुर्खेतमा रङ्गशाल निर्माण हुँदै छ । कर्णाली प्रदेशका मुख्यमन्त्री, खेलकुदमन्त्री सबैको जोश–जाँगर छ । संघीय सरकारले ६० करोड रूपैयाँ बजेट छुट्याएको छ । १०औँ राष्ट्रिय खेलकुदको गतिविधि अब व्यापक रूपमा सुरुवात हुन्छ ।’

रंगशालाको भौतिक पूर्वाधार विकासका विषयमा केही दिनअघि आफैँले सम्पर्क गरेर बुझेको बताउँदै उहाँले दसैँ अगाडि भौतिक पूर्वाधार व्यवस्थापनको सबै काम सकिने बताउनुभयो । खेललाई कसरी राम्रो र व्यवस्थित बनाउने सन्दर्भमा आफूहरु लागिरहेको उहाँको भनाइ छ ।

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनमै ११औँ राष्ट्रिय खेलकुलको घोषणा हुने उहाँले बताउनुभयो । मन्त्री चौधरीका अनुसार ११औँ राष्ट्रिय खेलकुद मधेस प्रदेशमा हुनेछ ।

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ वटा खेल समावेश गरिएको उहाँले बताउनुभयो । मन्त्री चौधरीका अनुसार २२ देखि २४ वटा खेल सुर्खेतमा हुने छ । बाँकी खेल नेपालगञ्ज अथवा काठमाडौँमा हुने मन्त्री चौधरीले बताउनुभयो ।

मन्त्री चौधरीले खेलकुदका क्षेत्रमा सरकारले सबैभन्दा कम बजेट विनियोजन गर्ने गरेकाले सोचेअनुरुपको काम गर्न नसकिएको बताउनुभयो । अहिले संघीय सरकारको २१ वटा मन्त्रालयमध्ये खेलकुद मन्त्रालयमै सबैभन्दा कम बजेट रहेको उहाँले सुनाउनुभयो ।

‘खेलकुदमा सबैभन्दा कम बजेट विनियोजन हुन्छ । २१ वटा मन्त्रालयमध्ये सबैभन्दा कम बजेट यसैमा छ । त्यसकारण तालिम सञ्चालन गर्न,खेलाडीलाई तलब दिन त्यति सजिलो छैन । विभिन्न संघहरुले आफ्नै किसिमको तलब निर्धारण गरेर दिइराखेका छन्,’ उहाँले भन्नुभयो ।

मन्त्री चौधरीले मूलपानीमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर तयार भइसकेको र बहुवर्षीय योजनाका लागि राष्ट्रिय योजना आयोगमा यही हप्ता पेश हुने बताउनुभयो । सरकारले रकमको सुनिश्चितता गरिसकेपछि कार्यक्रम सुरु हुने उहाँले बताउनुभयो ।

वर्तमान सरकारको पहिलो निर्णय कीर्तिपुर रंगशाला ३ सय दिनमा तयारी गर्ने पहिलो निर्णय गरेको बताउँदै उहाँले त्यसका लागि २० करोड रुपैयाँ छुट्याइएको बताउनुभयो । उक्त कामको टेन्डर गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

उनले कीर्तिपुर क्रिकेट रंगशालाको कामको थप प्रगतिका लागि खेलकुद मन्त्रालय र खेलकुद परिषद्ले सहरी विकास मन्त्रालयलाई जिम्मा दिएको बताउनुभयो । ‘३ सय दिनमा खेलकुद मन्त्रालय अथवा राष्ट्रिय खेलकुद परिषद्बाट सम्भव नदेखिएको हुनाले कहाँबाट छिटो काम हुन्छ भनेर हामीले त्यो रकम सहरी विकास मन्त्रालयमा ह्याण्डओभर गरेका छौँ । उहाँहरु कामको नजिक–नजिकमा हुनुहुन्छ । टेन्डर गर्नै बाँकी छ । तीन पटकमा काम गर्नुपर्ने सर्तमा टेन्डर हुँदै छ,’ उहाँले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...