काठमाडौँ, २९ भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले बाल अधिकारको सुनिश्चितताका लागि वर्तमान सरकार संवेदनशील रहेको बताउनुभएको छ ।
शनिबार राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा बोल्दै मन्त्री सुडीले बाल बालिकाका लागि सरकारले आवश्यक बढाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रा बालबालिका हाम्रा भविष्य हुन् । यिनीहरुको पालनपोषण तथा विकासमा गरिने हरेक लगानी समृद्ध र सुनिश्चित भविष्यको आधारशिला तयार गर्छ । बालबालिकाको शिक्षा,स्वास्थ्य क्षेत्रमा भएका लगानी र बाल संरक्षणका विविध सवालहरुलाई सम्बोधन गर्न आर्थिक वर्षमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले लिएको नीति र बजेट व्यवस्थाले समेत प्रस्ट पारेकोमा वर्तमान सरकार बाल अधिकार सुनिश्चितताका लागि अत्यन्तै संवेदनशील छ भन्ने विश्वास दिलाउन चाहन्छु । सरकारले बालबालिकासम्बन्धी विभिन्न कानुन, नीति योजना तथा कार्यक्रमहरुमार्फत् बालबालिकको संरक्षण, सुरक्षा, शिक्षा, स्वास्थ्य र सहभागितालगायत विषयमा लगानी गर्दै आएको भएता पनि थप लगानी बढाउनुपर्ने आवश्यक्ता रहेको छ ।’
साथै उनले बालबालिकको संरक्षणका लागि धेरै समस्या र चुनौतीहरुको सामना गर्नु परेको बताउनुभयो । उहाँले बालबालिकाविरुद्ध हिंसा, बालयौन दुर्व्यवहार, बालश्रम, बालविवाह लगायत अन्य समस्याहरुलाई उन्मूलन गर्नुपर्ने बताउनुभयो ।