काठमाडौँ, २० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२औँ सम्मेलनमा सहभागिता हुन नेपाल आएका मञ्चका सदस्य मुलुकहरुका प्रमुख निर्वाचन आयुक्तहरूले शीष्टचार भेट गर्नुभएको छ ।
भेटमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ भएको बताउँदै राष्ट्रपति पौडेलले राज्यमाथि जनताको पहुँच र स्वामित्व यसैबाट स्थापित हुने स्पष्ट पार्नुभयो ।
उहाँले राज्यमाथि जनताको पहुँच र स्वामित्व स्थापित गर्नका लागि निर्वाचन स्वच्छ निष्पक्ष र धाँधलीरहित हुनुपर्ने उहाँको भनाइ छ ।
राष्ट्रपति पौडेलले सम्मेलनले दक्षिण एसियाका मुलुकहरूमा हुने निर्वाचनलाई व्यवस्थित गर्दै अझ स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सहयोगी सिद्धहोस् भन्ने शुभकामना दिनुभयो ।
‘समग्र दक्षिण एसिया क्षेत्रमा स्वच्छ, पारदर्शी र विश्वसनीय निर्वाचन प्रणालीको माध्यमद्वारा लोकतन्त्रको प्रवर्द्धन र सुदृढीकरणका लागि यस संस्थामार्फत् यहाँहरुको अमूल्य योगदान निरन्तररुपमा रहनेमा म विश्वस्त छु,’ राष्ट्रपतिको भनाइलाई उद्धृत गर्दै उहाँको सचिवालयले जानकारी दियो ।
राष्ट्रपति पौडेलले आगामी दिनमा अध्यक्ष राष्ट्रको हैसियतमा अन्य सदस्य मुलुकहरुसँग यस संस्थाको साझा उद्देश्यहरु प्राप्त गर्न र चुनौतीहरु विरुद्ध सामूहिकरुपमा सामना गर्नका लागि आपसी सहयोग र सहकार्यलाई अझ सुदृद्ध बनाउन नेपाल प्रतिवद्ध रहने समेत स्पष्ट पार्नुभयो ।