काठमाडौँ, ६ भदौ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति भूपाल राईले नेपालको सबैभन्दा ठुलो विचार आदिवासी जनजातीको भएको बताउनुभएको छ ।
बिहीबार नवौँ तामाङ ज्ञान महोत्सवलाई सम्बोधन गर्दै उहाँले आफ्नो विचारमा राजनीतिकिकरण गर्नका लागि पछि पर्न नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालको सन्दर्भमा सबैभन्दा ठुलो विचार भनेको आदिवासी जनजातिको हो, यहाँको राष्ट्रहरुको विचार हो, हाम्रो आफ्नो चिजलाई राजनीतिकिकरण गर्नका लागि हामी एकदमै चुकिरहेका छौँ । राजनीति भनेको भोट माग्नु र जितेपछि मन्त्री सांसद मात्र बन्नु होइन यो भनेको एउटा भोटको खेती मात्र हो । आफ्नो लागि हरेक विषयमा लड्नु भनेको नै राजनीतिकिकरण गर्नु हो । यो राजनीतिकिकरण गर्ने पोल्टिसाइज गर्नुमा चाहिँ नेपालका आम आदिवासी जनजातीहरु चुकेका छन् ।’
साथै, उहाँले राजनीति गर्न नसक्दा राज्य सत्ताले आदिवासी जनजातीलाई ओझेलमा पारेको आरोप लगाउनुभयो । उहाँले राज्यले मात्र गर्छ भनेर आफूले लड्न नसक्दा तामाङ जनजाति राज्य सत्तामा पछाडि परेको बताउनुभयो ।