काठमाडौँ, ५ भदौ । सरकारले सय दिनभित्र गर्ने कामको विवरण सार्वजनिक गर्ने तयारीमा जुटेको छ ।
बुधबार काठमाडौँमा नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यसचिव लीलादेवी गड्तौलाले सबै मन्त्रालयहरुले आफू र आफू मातहतका निकायबाट १०० दिनभित्र गर्ने कामका योजना बनाएको र ती योजनालाई छिट्टै सार्वजनिक गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिलेको सरकारले सय दिनभित्रमा गर्ने काम के–के हुन भन्ने कुरा अब छिट्टै नै बाहिर ल्याइँदै छ ।’ साथै, उहाँले गत वर्षको तुलनामा यस वर्ष बजेटमा कार्यक्रमहरु पनि कार्यान्वयन हुने र छुट्याइएको बजेट पनि खर्च हुने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘बजेटको बारेमा मलाई केही थाहा छैन । मुख्य सचिवले क्याबिनेटको मात्र हेर्ने हो । बाँकी सम्बन्धित मन्त्रालय नै गर्ने हो । पदमा पुगे भन्दैमा जे पाए बोलेर हिँड्न हुँदैन । यहाँ आफ्नो काम केही नभन्ने अर्काको काममा धेरै चासो राख्ने प्रवृत्ति देखियो । अब गत वर्षभन्दा यस वर्ष पक्कै पनि बजेटमा कार्यक्रमहरु पनि कार्यान्वयन हुन्छन् । बजेट पनि खर्च गर्छ ।’