सहरलाई बस्न योग्य बनाउनका लागि धेरै काम गर्न बाँकी छ : उपप्रधानमन्त्री सिंह

24

काठमाडौँ, २२ साउन । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले केही गर्नकै लागि संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार गठन भएको बताउनुभएको छ ।

मंगलबार मन्त्रालयमा सञ्चारकर्मीहरुसँगको अनौपचारिक भेटघाटका क्रममा मन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले सरकारमा जानका लागि मात्र यो सरकार नबनेको पनि बताउनुभयो ।

‘आशा निराशामा परिणत हुँदै गइरहेको कारणले गर्दा संसद्को सबैभन्दा ठुलो र दोस्रो ठुलो दल मिलेर सरकार गठन गरेको कुरा तपाईंहरुलार्ई थाहा नै छ । सरकारमा जानका लागि मात्र यो गठबन्धन बनेको होइन,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो ,‘संसद्‌मा सम्माननीय प्रधानमन्त्रीज्यूले यो सरकारको औचित्यका बारेमा धेरै कुरा बताइसक्नुभएको छ । सरकारले केही न केही त गर्नैपर्‍यो भन्ने यसको राजनीतिक सन्देश हो । ’

त्यस्तै, उपप्रधानमन्त्री सिंहले सहरी विकास मन्त्रालयले सहरलाई बस्न योग्य बनाउनका लागि गर्नुपर्ने काममा विशेष ध्यान दिने पनि बताउनुभयो । सहरी विकास मन्त्रालयको कामकारबाहीलाई प्रभावकारी बनाउनका लागि मन्त्रालयले काम गरिररहेको उहाँको भनाइ थियो ।

देशैभरका सहरमा रहेको कनेक्टिभिका समस्या, फोहोरमैला व्यवस्थापनका समस्या, खुला जग्गाको अभावलगायतका विषयमा ध्यान दिने भन्दै उहाँले मन्त्रालयले सहरी विकास र व्यवस्थापनसम्बन्धी नीति आवश्यक्ताअनुसार समायसापेक्ष बनाउने पनि बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...