काठमाडौँ, २० साउन । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको एमाले र कांग्रेसको समीकरणमा बनेको सरकारले कुनै स्टन्टबाजीको रूपमा काम नगर्ने बताउनुभएको छ ।
आइतबार पार्टी कार्यलयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहणमा उहाँले लोकतन्त्रका लागि लडेर आएका पार्टीहरूको समीकरण भएकाले स्टन्टबाजीको रूपमा कुनै विचार पनि प्रस्तुत नगर्ने र कुनै अन्यौल वा भ्रम पैदा गरी झुक्याउने खेलमा पनि नलाग्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘अहिलेको समीकरण संविधान संशोधनका लागि हो । संविधान अतिक्रमणका मुद्दा बोकेर हिँडेका पार्टीहरु जस्तो होइन । लोकतन्त्रका लागि लडेर आएका पार्टीहरूको एजेण्डा हो संविधान संशोधन । त्यसकारण लोकतन्त्रका लागि कुनै भुलभुलैया वा अफवाहको भरमा या कुनै अन्यौलग्रस्त भएर अथवा पपुलिष्ट हुनका लागि स्टन्टबाजीको रूपमा विचार पनि प्रस्तुत पनि गर्दैन । कुनै अन्यौल र भ्रम पनि चाल्दैन । स्टन्टबाजी पनि गर्दैन, कसैलाई झुक्याउने खेल पनि खेल्दैन ।’
उहाँले पार्टीमा कुनै पनि हिसाबको गुटबन्दी स्वीकार्य नहुने समेत बताउनुभयो । गुटबन्दीका कारण एमाले विभाजन भएको भन्दै अब एमालेमा गुटबन्दी स्वीकार्य नहुने बताउनुभयो । उहाँले भन्नुभयो,‘पार्टीमा लामो समयदेखि गुटबन्दी थियो । गुटबन्दी नियन्त्रण गर्न सक्नुपर्थ्यो सकिएन, अब गुटबन्दी स्वीकार्य छैन ।’