सिरहा, १९ साउन । नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले मधेस परिवर्तनको पवित्र भूमि भएको बताउनुभएको छ । मुलुकमा हरेक आन्दोलन र परिवर्तनको सुरुवात मधेसबाट सुरू भएको उल्लेख गर्दै उहाँले राष्ट्रपति मात्र पाएर मधेसले चित्त बुझाउन नहुने बताउनुभयो ।
शनिबार नेपाली कांग्रेस सिरहा जिल्ला कार्य समितिले लहानमा गरेको अन्तरक्रियामा बोल्दै डा.संग्रौलाले नेपालमा संघीयता कायम हुनुमा मधेसको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले मधेस पछाडि पर्नुको कारण जातजाति, वर्ग, लिंग र समूदायबीचमा देखिएको विभेद भएको उल्लेख गर्दै सहमति, सहकार्य र एकता आवश्यक रहेको औंल्याउनुभयो।
डा.संग्रौलाले पार्टीभित्र रुपान्तरण र आधुनिकीकरण जरुरी रहेको बताउँदै कार्यकर्ताहरुले नेताको वरिपरि घुम्ने प्रवृत्ति त्यागगरी संगठन बनाउन र शक्ति सञ्चय गर्न आग्रह गर्नुभयो । उहाँले अहिलेकै शैलीले कांग्रेस नचल्ने भएकाले पद र शक्तिको पछाडि नलागी संगठन बनाएर अघि बढ्न कार्यकर्ताहरुलाई सुझाव दिनुभयो ।
‘कार्यकर्ताहरु निराशा आउनुहुँदैन । निराशाले समृद्धि र विकास हुँदैन । त्यसैले अब मधेसका नेपाली कांग्रेसका कार्यकर्ताहरु घरघरबाट जाग्नुपर्छ । परिवर्तनका लागि मधेस फेरि जुट्नुपर्छ,’ उहाँले भन्नुभयो । उहाँले मधेसमा जातजाति, वर्ग, लिंगबीचको विभेद त्याग गरी एकताबद्ध हुन आग्रह गर्नुभयो ।
जनप्रतिनिधि र नेपाली कांग्रेसबी नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने औँल्याउँदै उहाँले मधेसमा भइरहेको प्राकृतिक दोहन, जग्गा बाँझोपन, डुबानको समस्या अन्त्य गर्न सरकारलाई आग्रह गर्नुभयो ।
उहाँले संविधान संशोधन गर्दा समावेशी सिद्धान्तमा पुनःविचार हुनुपर्ने बताउनुभयो । आगामी निर्वाचनमा एक तिहाइ महिलाहरुलाई प्रत्यक्षमा टिकट दिनुपर्ने उहाँको जिकिर छ ।