काठमाडौँ, १९ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सहकारी क्षेत्रभित्र रहेका समस्या सरकारले समाधान गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२औँ स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री भण्डारीले नेपालको जनसंख्याको हिसाबले एक तिहाइ व्यक्ति सहकारी आन्दोलनमा रहको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यतिबेला राष्ट्रिय रुपमै सहकारीभित्र एक खालका प्रश्नहरु छन्, जे खालका समस्याहरु छन् ती समस्याहरुलाई सरकारले सम्बोधन गर्नुपर्ने छ । नेपालको जनसंख्याको एक तिहाइ सहकारी आन्दोलनसँग प्रत्यक्ष रुपमा सहभागि हुनुहुन्छ, राज्यले, संविधानले सहकारी क्षेत्रलाई, सहकारी आन्दोलनलाई अर्थतन्त्रको एउटा महत्वपूर्ण हिस्साको रुपमा, महत्वपूर्ण क्षेत्रको रुपमा परिभाषित गरेको छ । यसलाई तीन खम्बे अर्थनीतिभित्र एउटा विशेष खालको राज्यले परिभाषित गरेको छ ।’
साथै उहाँले आमजनता र व्यवसायीहरुले आफ्नो गाँस काटेर सहकारीमा जम्मा गरेको पैसाको मात्र हिस्सा खोजेको बताउनुभयो । उहाँले उत्पादनको केही लगानीको क्षेत्र सहकारी हो भनेर जम्मा गरेको पुँजी उत्पादन क्षेत्रमा नलागेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आमजनताले, व्यवसायीहरुले खासगरी आधारभूत तहका जनताहरुले गाँस काटेर आफ्नो बचतलाई सहकारीमा आफ्नो हिस्सा खोज्नुभएको थियो । उहाँहरुले उत्पादनको केही लगानीको क्षेत्र सहकारी हो, सहकारीमार्फत उत्पादनसँग, उद्योगसँग, व्यवसायसँग यसको आकारलाई विस्तार गर्न सकिन्छ । सिंगो सहकारीको आकारलाई व्यवस्थित गर्न सकिन्छ भन्ने विश्वासका साथमा सहकारीलाई त्यो अर्थमा लिइएको छ । तर, पछिल्लो पटक सहकारी क्षेत्रको पुँजी जुन रुपमा उत्पादन क्षेत्रमा लागनुपर्ने हो । उद्यमशीलतामा पुँजीलाई केन्द्रित गर्नुपर्ने हो त्यो हुन सकेन ।’