काठमाडौँ, १८ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निष्ठापूर्वक काम गर्न प्रतिवद्व रहेको बताउनुभएको छ ।
शुक्रबार नेपाली कांग्रेस पर्यटन विभागद्वारा आयोजित नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सम्बद्व पर्यटन व्यवसायीसँगको छलफल एवम् अन्तरक्रिया कार्यक्रममा बोल्दै उक्त कुरा बताउनुभएको हो ।
उहाँले संस्कृति र प्रकृतिलाई सँगसँगै लिन सकेमा पर्यटनको विकास हुन दाबी गर्नुभयो । आफू हाल १८ घन्टा मन्त्रालयको काममा खटिएकाले परिणामुखी काम गरेर देखाउने प्रतिवद्वता व्यक्त गर्नुभयो ।
मन्त्री पाण्डेले पर्यटनमैत्री पर्यटन नीति बन्नेमा पर्यटन व्यवसायीलाई ढुक्क रहन आग्रह गर्नुभयो । उहाँले आफूलाई पार्टी, नेता र कार्यकर्ताको विश्वासमा कुठाराघात नगरी निष्ठापूर्वक काम गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।
साथै उहाँले पर्यटन व्यवसायीहरूलाई व्यक्तिगत लाभका काम नभइ समग्र मुलुकको समृद्धि र विकासमा टेवा पुग्ने काम गर्ने प्रतिद्वता दोहोर्याए । पर्यटन व्यवसायी आफैँमा थिंकट्यांक भएकाले निष्कर्ष र निचोडसहितको सुझाव दिन समेत आग्रह गर्नुभयो ।