काठमाडौँ, १६ साउन । परराष्ट्रमन्त्री आरजु राणा देउवाले अहिलेको सरकारलाई स्टन्डबाजी गर्न आवश्यक नभएको बताउनुभएको छ ।
बुधबार पासपोर्ट विभाग र कन्सुलर विभागको निरीक्षण गर्दै उहाँले वर्तमान सरकारमा भएका पार्टीले धेरै कामहरु गरेर देखाइसकेको भन्दै देशको लागि केही गर्न सक्छौँ भनेर देखावटी गर्न जरुरी नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले सरकारमा भएका पार्टी धेरै पुरानो पाटीहरु हो । हामीले काम गर्न सक्छौँ, देशको लागि केही गर्न सक्छौँ भनेर देखावटी गर्न जरुरी छैन । किनभने हामीले गरेर देखाइसकेका छौँ । हामीभन्दा अगाडिका पिँढीहरुले धेरै गाह्रो समयमा नेपाललाई अगाडि सारेको पार्टी अहिले सरकारमा छन् । त्यसकारणले हामी सबैभन्दा राम्रो छौँ भनेर देखाउनु पर्ने, स्टन्ड गर्नुपर्ने जरुरी अहिलेको सरकारलाई छैन । धेरै सोचेर, छानेर नै अहिलेका मन्त्रीहरु बनेका छन् ।’
उहाँले सरकार काम गर्ने कुरामा एकदमै गम्भीर रहेको भन्दै यो सरकारलाई कति बेला के हुने हो भन्ने चिन्ता नभएको हुनाले निर्धक्क भएर काम गर्ने पनि बताउनुभयो ।
नेपाल कुन दिशातर्फ लानको लागि नेपाली कांग्रेसको सभापति र एमालेको अध्यक्ष दुईजनाले धेरै संघर्ष गरेको भन्दै अब भने देशका लागि केही गर्नुपर्छ भनेर अहिलेको सरकार बनेको पनि उनले स्पष्ट पार्नुभयो ।
विभागको व्यवस्थित पहिलाको तुलनामा धेरै राम्रो भएको भन्दै सेवाग्रहीलाई सहज रूपमा सेवा प्रवाह गर्न निर्देशन पनि दिनुभयो ।
आफूमाथि लागेको आरोपहरु सत्य नभएको भन्दै मलाई केही गरेर शेरबहादुर देउवालाई तल पार्ने खेल भएको पनि उहाँको भनाइ छ ।